शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – युवाकवि भविन लिम्बूको कविता सङ्ग्रह ‘छायाँ’को एक समारोहकाबीच विमोचन गरिएको छ । ‘छायाँ’को नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, समालोचक महेश पौडेल र कृतिकार भविन लिम्बूले संयुक्त रुपमा विमोचन गर्नु भएको हो ।

समारोहमा बोल्दै उपकुलपति घिमिरेले कविता सङ्ग्रह छायाँबाट नयाँ पन, नयाँ शैली भित्रिएको बताउनुभयो । आजको कविताले खोजेको खास धार यो कृतिमा भेटिएको उहाँको टिप्पणी थियो । विमोचित कृतिबारे निबन्धकार नयाँघरेले आफनो धारणा राख्दै, ‘छायाँमा देश र परदेश जोड्ने भावनात्मक पुलको निर्माण भएको बताउनुभयो ।

यस्तै समालोचक पौडेलले छायाँमा जातीयता र राजनीतिको कुनै पनि छोइछिटो नरहेको विचार विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘कविताको मौलिक स्वाद यसमा छ ।’ कृतिका लेखक लिम्बूले आफू विदेशमा बस्दा पैसाभन्दा पनि साहित्य-कलामा बढी समर्पित भएको धारणा राख्नुभयो । कविता लेख्दा मलाई ठूलो सन्तुष्टी हुन्छ, उहाँले भन्नुभयो, ‘सिर्जनाले दिने सुख अरुबाट पाइँदैन ।’

साहित्यकार लेकालीले भविनका कविताले आफ्नो मौलिक भाव र चरित्रमाथि उठान गरेको बताउनु भएको छ । लामो समयदेखि हङकङमा रहँदै आउनु भएका कवि लिम्बू धेरै सांस्कृतिक, सामाजिक, साहित्यिक संघ-संस्थामा आबद्ध हुनुहुन्छ । छायाँ भविनको दोस्रो कृति हो भने यस अघि उहाँको हङकङ चसमिस कविता सङ्ग्रह प्रकाशित भइसकेको छ ।

विमोचनका अवसरमा वीपी चिन्तन प्रतिष्ठान हङकङका अध्यक्ष कुलप्रसाद गुरुङ, कवि टङ्क सुब्बा, बाबा बस्नेत, सन्ध्या पहाडी, डाक्टर गुनु घर्ती लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया