शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – संगठनको लाइनविपरित पत्रकार महासंघको आसन्न चुनावमा अध्यक्ष पदमा बागी उम्मेदवारी दिएको भन्दै उजिर मगरलाई प्रेस सेन्टरले कारवाही गरेको छ ।

संगठनप्रति गम्भिर घात गरेको भन्दै मगरलाई प्रेस सेन्टरको साधारण सदस्यसमेत नरहने गरी निश्काषित गरिएको महासचिव विष्णुप्रसाद सापकोटाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

मगर नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनमा प्रेस सेन्टर नेपालको तर्फबाट उम्मेद्वार भई महासचिवमा निर्वाचित हुनु भएको थियो । विज्ञप्तिमा भनिएको छ – ‘उम्मेदवारी फिर्ता लिई संगठनको निर्णय मान्न पटक पटक निर्देशनात्मक आग्रह गर्दा पनि नमानी आफ्नो उम्मेदवारी कायमै राखेकोले उजिर मगरलाई आजकै मितिदेखि प्रेस सेन्टर नेपालको साधारण सदस्यबाट निस्कासित गरिएको सबैमा जानकारी गराइन्छ ।’ त्यस्तै, पत्रकार महासंघको महासचिवमा निर्वाचित भईसके पश्चात मगरले गरेका काम, कारबाही र कार्यशैलीका कारण प्रेस सेन्टरलाई क्षति तुल्याएकोसमेत विज्ञप्तिमा जनाइएको छ ।

पत्रकार महासंघका बहालवाला केन्द्रीय सदस्यले समाचारलाई आधार बनाएर लाखौं रुपियाँको बार्गेनिङ गरेको घटनामा खेलेको भूमिका, पत्रकार महासंघको काठमाडौं शाखाको निर्वाचनमा संस्थागत धाँधली गरी प्रेस सेन्टरका उम्मेदवारलाई पराजित गरेकालगायतका घटनामा मगरको प्रत्यक्ष संलग्नता रहेको पनि विज्ञप्तिमा जनाइएको छ । ***

तपाईको प्रतिक्रिया