बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौं – एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तिम मैत्रीपूर्ण खेलमा ४-२ ले पराजित भएको छ ।
आज भिसेल कोबको १८ वर्षमुनिको टोलीसँग भएको पाँचौ तथा अन्तिम मैत्रीपूर्ण खेलमा नेपालले हार व्यहोरेको हो ।

नेपालले खेलको पहिलो हाफमा १ गोल खाएको थियो । दोस्रो हाफमा नेपालका लागि भरत खवास र बिमल घर्ती मगर १-१ गोल गरे पनि जापानी क्लब भिसेल कोबले दोस्रो हाफमा ३ गोल गरेको थियो ।  ८ दिने जापान भ्रमणमा रहेको नेपाली टोलीले पहिलो खेल गाम्बा ओकासँग १-१ को बराबरी खेलेको थियो । जापान भ्रमणमा रहेको नेपाली टोलीले एकमात्र जित हासिल गर्‍यो । क्वान्सी गाक्विन युनिभर्सिटीलाई नेपालले २-१ को गोल अन्तरले हराएको थियो ।

तेस्रो खेलमा एमिटी स्पोर्टस् क्लबसँग ५-० र चौथो खेलमा नेपालले ६-० गोल अन्तरको फराकिलो हार बेहोर्‍यो । जापान गएको टोलीका प्राय खेलाडी एएफसी एसियन कप छनोट अन्तर्गत यमन विरुद्ध खेलेका खेलाडी नै छन् । गोलकिपर किरण चेम्जोङ र रोहित चन्द विदेशमा लिग खेलिरहेकाले जापान जाने टोलीमा समावेश छैनन् । नेपाली टोलीको जापान भ्रमणलाई जापानको विदेश मन्त्रालय र जापान फुटबल संघले व्यवस्थापन गरेको छ ।

एएफसी एसियन कप छनोट प्रतियोगिताको समूह ‘एफ’ मा रहेको नेपाल एक अंकसहित तेस्रो स्थानमा तथा अंकबिहीन ताजकिस्तान अंक तालिकाको अन्तिम स्थानमा छन् । समूह चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग उसकै मैदानमा ४-१ को गोलअन्तरको हार भोगेको थियो ।

त्यस्तै नेपालमै भएको यमनविरुद्वको दोस्रो खेलमा दुवै टोलीले १-१ को बराबरी खेलेका थिए । समूह एफमा रहेको फिलिपिन्स ६ अंकका साथ शीर्षस्थानमा तथा चार अंक जोडेको यमन दोस्रो स्थानमा छन् ।

तपाईको प्रतिक्रिया