शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

जापानको राजधानी टोकियोको एक झम्के साँझ । सँधैभन्दा नितान्त पृथक कार्यक्रमका लागि ब्यग्र प्रतीक्षारत दर्शक-स्रोताहरुद्वारा निर्धारित समय अगावै हल खचाखच भैसकेको थियो । त्यहाँ कुनै कहलिएका कलाकारहरुको मनोरञ्जनजन्य साँगीतिक कार्यक्रम आयोजित थिएन । यसप्रकारको कार्यक्रम संभवत जापानमा पहिलोपटक थियो।

साँगीतिक बाहेकका कार्यक्रममा यति ठूलो संख्याका नेपालीहरु यस अघि न त कुनै ठूला राजनैतिक दलका नाम चलेका नेताहरु आएका सभा समारोहमा देखिएका थिए न त कुनै संघसंस्थाको अधिवेशन वा वार्षिकोत्सव समारोहमा नै ।
कुरो गत जुलाई २ को नाकानो जिरो हलमा आयोजित एक अन्तर्क्रिया कार्यक्रमको हो । कार्यक्रमका केन्द्रविन्दु रहेका थिए, वक्ताहरु प्रा. डा. केदारभक्त माथेमा, रवीन्द्र मिश्र, प्रा. डा. कमल लामिछाने र प्रेम बानियाँ । कार्यक्रमको बिषय दिईएको थियो ’समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिका’ |

फरक फरक पृष्ठभूमिका तर आ-आफ्नो क्षेत्रमा बिशेष ख्याती कमाईसकेका यी चार प्रखर अनुहारहरुलाई एउटै मञ्चमा भेला गराउने मेलोमेसो भने टोकियोका जोशिला युवाहरुको टिम ’दिगो बिकासका लागि पारस्परिक मैत्री समुह’ ले गरेको थियो, जसको संयोजन ब्यवसायी महेश श्रेष्ठले गरेका थिए ।

निर्धारित समयभन्दा थोरै ढिलोगरी कार्यक्रम सुरु भयो । उदघोषणको जिम्मेवारी सम्हालेका पत्रकार सन्तोष चोखालले औपचारिक बिषयहरु प्रष्ट्याईसकेपछि कार्यक्रमका सहसंयोजक दुर्गाबहादुर खत्रीको स्वागत मन्तब्य लगत्तै आयोजकका तर्फबाट जापानका लागि पर्यटन प्रतिनिधि समेत रहेका अनुज थापाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

बिदेशमै बसेर पनि देशको लागि धेरै गर्न सकिने 

त्यसपछि कार्यक्रमका लागि अमेरिकाबाट आएका टेलिभिजन पत्रकार प्रेम बानियाँ स्टेजमा निम्त्याईए । जय स्वाभिमान नामको टेलिभिजन कार्यक्रममार्फत आफ्नो सशक्त प्रस्तोताको छबि बनाएका पत्रकार प्रेम बानियाँ बिगत ९ महिनादेखि अमेरिकामा छन् । युवा जोशले भरिएको दमदार भाषणमार्फत उनले स्रोताहरुलाई जुरुक जुरुक मात्र उचालेनन् तालीको पर्रा पनि बटुल्दै गए । तर उनले धेरैजसो समय जय स्वाभिमानको नारा त्यागेर अमेरिका भासिएको भन्ने आफुमाथि लाग्दैआएको पलायनबादी आरोपको जबाफ दिने काममा खर्च गरे । उनको अभिब्यक्ति सुन्दा उनले लामो समयपछि सार्बजनिक मञ्च पाएको र आफुमाथि गरिएको टिकाटिप्पणीहरुको एकमुष्ट स्पष्टिकरण दिने प्रयास गरेको आभास पाईन्थ्यो । भाषणकै क्रममा उनले कतिपय यस्ता अभिब्यक्ति पनि दिए, जुन अपेक्षित थिएनन् । आशय अरु नै भएपनि नेपालमा मान्छेले खाने छूर्पी अमेरिकामा कुकुरलाई खुवाईन्छ भनेर पटक पटक दोहोर्‍याउँदा धेरैले असहज महशुस गरेको प्रष्टै झल्किन्थ्यो । उनले यो पनि भन्न भ्याए कि आफु अरु औसत नेपालीभन्दा असाधारण प्रकृतिको भिसा स्टाटसमा बसेको र जिम्मेवार गैरसरकारी कार्यालयमा इजतिलो काम गरेको पनि बताए । जुन कुरा त्यहाँ कसैले सोधेका थिएनन् । शायद उनले आफुमा जम्मा भएका उकुसमुकुस जापानका नेपालीहरुलाई सुनाएर मन हलुका बनाउन चाहन्थे । नेपाली राजनीतिलाई आफुले लामो समयदेखि नजिकबाट नियालिरहेको र त्यस बिषयमा आफु जानकार रहेको तर्क गर्दै नेपाली युवाहरुले चाहेजस्तो नेपालमा छिट्टै परिवर्तन संभव नदेखिएकोले पत्रकारितामा आवश्यक पर्ने थप अनुभव र ऊर्जा हासिल गर्न आफु अमेरिका गएको पनि उनले सुनाए । नेपाली राजनीतिका निरसिला पाटाहरुको बारेमा प्रकाश पार्दै उनले आगामी १० वर्षसम्मको प्रधामन्त्रीहरुको नाम अहिले नै दिन सक्ने ठोकुवा पनि गरे । प्रधानमन्त्री मात्रै होइन, प्रधानन्यायाधिश, प्रधान सेनापती, प्रहरी महानिरिक्षक लगायत संबैधानिक निकायका आगामी १०, १५ वर्ष सम्मका प्रमुखहरुको नामावली पनि आफुले अहिले नै दिन सक्ने तर्क पनि गरे । यतिबेलासम्म उनको ध्यान दिईएको बिषयवस्तुमा खासै गएजस्तो लाग्दैनथ्यो ।

त्यसपछि भने बिषयवस्तुमा केन्द्रीत भएर पत्रकार बानियाँले बिदेशमै बसेर पनि देशको लागि धेरै गर्न सकिने बताउँदै केही ज्वलन्त उदाहरणहरुका फेहरिष्ट सुनाए । बिदेशमा बसेका नेपालीले नेपालको क्षेत्रफल भन्दा ठूलो मुटु छातीमा राखेर साँच्चिकै राष्ट्रप्रेमको भावनाले काम गर्ने हो भने बिदेशमा नेपाली उत्पादनको बजार खोजेर आर्थिक बिकासमा ठूलो टेवा पुर्‍याउन सकिने बताए । देशका लागि आवश्यक पर्ने सयौं होनहार युवाहरु दिनहुँ बिदेशिदा आफुलाई ज्यादै दुख्ने गरेको बताउँदै उनले आफु लामो समय बिदेशमा बस्न नसक्ने छिट्टै नेपाल फर्केर आफ्नो क्षेत्रबाट राष्ट्र र जनताका लागि सकेको योगदान दिने बताए । नेपालीहरु बिदेशमै बसेर पनि देशको औधी चिन्ता गर्ने भए पनि अब भने आवश्यक परेको बेला देश फर्कन तयार हुनुपर्नेमा जोड दिए ।

हरेक नेपाली सबैभन्दा पहिले आफैप्रति इमान्दार हुन जरुरी

कार्यक्रमका दोस्रो वक्ता थिए प्रा. डा. कमल लामिछाने । टोकियो युनिभर्सिटीमा प्राध्यापनरत प्रा. डा. लामिछाने आफ्नै उदाहरण दिदैं दृष्टिबिहिन भएर पनि आफुले जापानको विश्वविद्यालयबाट विद्यावारिधी गर्ने सपना पुरा गरेरै छोडेको बताए । त्यसक्रममा आफुले भोग्नुपरेका संघर्षशील दिनका अनुभवहरु सुनाए । उनले आफ्नो अनुभवहरु सुनाउँदै गर्दा स्रोताहरु भावुक मात्र बनेनन् एक दृष्टिबिहिन ब्यक्तिले बिदेशमा उच्चशिक्षा हासिल गरेर एउटा प्रतिष्ठित बिश्वविद्यालयमा प्राध्यापन गर्न सक्छ भने अरुले किन नसक्ने, प्रा. डा. लामिछानेको प्रेरणाबाट नेपाली युवाहरुले सिक्नुपर्ने धेरैले अनुभूत गरे । प्रा. डा. लामिछानेले जापान लगायत बिश्वका अन्य बिकसित मुलुकहरुमाझैं नेपालमा शिक्षाको खास महत्वबारे बुझाउन नसक्दा अहिलेको नेपाली पुस्ता बरालिन पुगेको बताए ।

उनले गुणस्तरिय शिक्षाको अभावमा नेपालीहरु बिश्व श्रमबजारमा सस्तोमा कष्टकर एवं जोखिमयुक्त काम गर्नुपरेको बताए । बिदेशमा बसेका नेपालीहरुमा देश बन्नुपर्छ भन्ने भावना प्रशस्तै भए पनि सो अनुरुप प्रभावकारी पहलकदमी हुन नसकेको विचार ब्यक्त गरे । त्यसलाई ब्यवहारमा उतार्नका लागि हरेक नेपालीले सबैभन्दा पहिले आफैप्रति इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रा. डा. लामिछानेको विचारलाई नयाँ टेष्टकारुपमा जापानका नेपालीहरु धेरैले मन पराए ।

नेपाल फर्कने अभियान सुरु गर्न आवश्यक

त्यसपछि मञ्चमा आमन्त्रण गरियो, बिबिसी नेपाली सेवाको लामो पत्रकारिताबाट राजनीतिमा होमिएका रवीन्द्र मिश्रलाई, जो पछिल्लो समय साझा पार्टी खोलेर संयोजकको भूमिकामा सक्रिय छन् । यद्यपि उनले कार्यक्रममा आफ्नो पार्टी राजनीतिको कुनै गुञ्जायस गरेनन् जति कार्यक्रम अघि बजारिया अड्कलबाजीहरु भईरहेका थिए । सिधै बिषयवस्तुको गहिराईलाई छिचौल्दै उनले सबैभन्दा पहिले आफु समृद्ध हुनुपर्ने त्यसपछि मात्र समाज र राष्ट्रलाई योगदान गर्न सकिनेमा जोड दिए । जीवन चल्न थालेपछि भने राष्ट्रलाई सम्झनैपर्ने जिम्मेवारीबोध हरेक नेपालीमा हुन आवश्यक रहेको धारणा ब्यक्त गरे । बिश्वका कैयौं देशहरुको बिकासमा त्यस देशका बिदेशमा रहेका नागरिकहरुको भूमिका महत्वपूर्ण रहेको प्रसंग कोट्याउँदै राज्यले पहल गरेमा नेपालमा पनि ठूला ठूला प्रोजेक्टहरु बिदेशमा रहेका नेपालीहरुको मात्र लगानीबाट संभव हुने उनले दावी गरे । ’रेमिट्यान्स गर्व गर्ने बिषय होइन, घरबाट टाढा बस्दा घरको ज्यादा माया भएझै मुलुकभन्दा बाहिर रहँदा राष्ट्रप्रतिको अगाढ माया मन र मुटुभरि छचल्किनु स्वभाविकै हो’ – उनले भने – आफ्नो देशको धुँवा, धुलो जस्ता प्रदुषण पनि मीठो हुन्छ, नेपालमा अवसरै अवसरको खानी छ, त्यसैले समयमै नेपाल फर्कनुहोला ।’ तपाईहरुजस्तो संसार चिन्नुभएको, देख्नुभएको र भोग्नुभएको नेपालीहरुको देशलाई आवश्यक छ । देश बनाउने जिम्मा तपाईहाम्रै हो । त्यसैले देश फर्कनुहोस् ।’ “यदि स्वदेश नफर्कने कोही हुनुहुन्छ भने पनि त्यस्ता नेपालीहरुले बिदेशमा हासिल गरेको सफलताको उचाईले देशको बिकासमा स्पर्श गर्नैपर्छ – उनले भने ।
’अब द्वन्द्वको पिप बिर्सनैपर्छ, यदी हामीमा कुनै पनि प्रकारका कुण्ठा र निराशा छन् भने पनि आफुभित्रको सकारात्मक सोचको बलले पेल्दै जानुपर्दछ’ – मिश्रले भने । उनले बिदेशमा रहेका हरेक नेपालीले १, १ जना बिपन्न विद्यार्थीलाई स्तरिय शिक्षा प्रदान गर्ने जिम्मा लिने हो भने पनि नेपालको शैक्षिक बिकासमा निकै ठूलो योगदान पुग्ने विचार ब्यक्त गरे । आफ्नो भनाईलाई बिट् मार्दै गर्दा मिश्रले प्रा. डा. लामिछानेलाई पनि नेपाल फर्कन आग्रह गरे । उनले भने – ’तपाईजस्तो विद्वान ब्यक्तिहरुको नेपालमा खाँचो छ, छिट्टै स्वदेश फर्कनुहोला ।’  अन्तमा, उनले बिदेशमा रहेका नेपालीहरुलाई अव नेपाल फर्कने अभियान सुरु गर्न अपील गर्दै हामी सबै इमान्दारिका साथ मुलुक निर्माणमा होमिने हो भने परिवर्तन हाम्रै जीवनमा संभव भएको ठोकुवा गरे ।  मिश्रले टोकियोमा नयाँ खुराक खासै त्यतिधेरै पस्केनन्, जति अपेक्षा गरिएको थियो । उनले अधिकाँश पुरानै कुराहरु दोहोर्‍याए, जुन उनले यसअघि बिभिन्न कार्यक्रमहरुमा बताउंदै आएका थिए र भिडियोहरुमा पनि उपलब्ध छन ।

जापानको असल सँस्कार सिकेर लाभ लिन सक्नुपर्ने

प्रा. डा. केदारभक्त माथेमा जो जापानका लागि पूर्व राजदूतसमेत रहीसकेका त्रिभुवन विश्वविद्यालयका पूर्व कुलपति हुन् । अन्तिम वक्ता प्रा. डा. माथेमाले हरेक राम्रो कामको सुरुवात आफैबाट गरिनुपर्ने बताए । देश बिकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहने बताए । उनले अमेरिका, जापान, नर्वे, स्वीडेन, कोरिया जस्ता बिकसित राष्ट्रहरुमा ६० देखि ७० प्रतिशत युवाहरु उच्चशिक्षाका लागि विश्वविद्यालय जाने गरेको भए पनि उनीहरु सन्तुष्ट नरहेको बताईरहँदा हाम्रो नेपालमा भने यो प्रतिशत अत्यन्त न्युन रहेको बताए । नेपालमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको बृद्धिदर चिन्ताजनक रहेको भन्दै उनले त्यसतर्फ सरकारको ध्यान जान नसकेको टिप्पणी गरे। पछिल्लो आर्थिक बृद्धिदर बढेर ७ प्रतिशत पुगेको तथ्यलाई हेर्दा भने नेपालमा बिकास जुर्मुराएको भन्न सकिने अवस्था आएको उनले धारणा राखे ।
प्रा. डा. माथेमाले २० वर्षअघि आफु जापानमा राजदूत भएर काम गर्दाको स्मरण गर्दै हामी नेपालीहरुले जापानको असल सँस्कार सिकेर लाभ लिन सक्नुपर्ने बताए । सिक्ने कुरामा कहिलै ढिला नहुने भन्दै आफुले पनि ३० वर्षको उमेरमा साइकल, ४० वर्षको उमेरमा मोटरसाइकल, ५० वर्षको उमेरमा गाडी र ६० वर्षको उमेरमा कम्प्युटर सिकेको उदाहरण दिए । ’बिदेशमा जे जे संभव छ सिक्ने कुरामा कञ्जुस्यांर्इ नगर्नुहोला र सिकेका कुरालाई आफ्नो देशमा लगेर सदुपयोग गर्नुहोला’ – प्रा. डा. माथेमाले भने । अतिथि वक्ताहरुको मन्तब्यपछि सहभागीहरुले उनीहरुसंग अन्तर्क्रिया पनि गरेका थिए ।

प्रा. डा. माथेमा र मिश्र फुकुओकामा भएको एक कार्यक्रमका लागि जापान आएको अवसरमा टोकियोमा पनि यसप्रकारको उत्प्रेरणायुक्त कार्यक्रमको आयोजना गरिएको हो । यसै मेसोमा प्रा. डा. लामिछाने र पत्रकार बानियाँ पनि बिशेष वक्ताकारुपमा आमन्त्रित भएका हुन् ।

सँधैजसो नाचगान र मनोरञ्जनजन्य कार्यक्रमहरुमा भेला हुने गरेका नेपालीहरुले सो दिनमा एक फरक कार्यक्रमको अनुभूति गर्ने अवसर पाए । राष्ट्रप्रतिको प्रेमभाव जगाउने यसप्रकारका उत्प्रेरणायुक्त (मोटीभेशनल) कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने सहभागीहरुले प्रतिक्रिया दिए ।***

तपाईको प्रतिक्रिया