शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैँ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा करिब ४० हजार शीर्षकमा पुस्तकले ‘अन्तर्राष्ट्रिय मापदण्ड पुस्तक नम्बर (आइएसबिएन)’ लिएका छन् ।

नेपालभर प्रकाशित हुने विभिन्न पुस्तकको आइएसबिएन नम्बर दिइरहेको पुस्तकालयले अहिलेसम्म करिब ४० हजार शीर्षकको पुस्तकमा सो नम्बर दिएको आइएसबिएन शाखाका मुख्य कार्यालय सहायक हरिशरण गिरीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार दैनिक अहिले १५ देखि २५ सम्म पुस्तक आइएसबिएन नम्बर लिन आउने गरेका छन् । पुस्तकालयले सन् २००० देखि नेपालभर प्रकाशित हुने पुस्तकको आइएसबिएम नम्बर दिन थालेको हो । पुस्तकालयले प्रतिशीर्षक रु ३०० लिने गरेको छ ।

आइएसबिएम एजेन्सीले त्रिवि पुस्तकालयलाई नेपालको एजेन्सीका रुपमा तोकेको छ । नम्बर लिए पनि पुस्तकालयले उक्त पुस्तक शीर्षक र लेखकको नाम आइएसबिएनको वेभसाइटमा राखिदिने गर्दछ । त्यसपछि विश्वभरिका उक्त पुस्तक कसले कुन शीर्षकमा लेखिएको भन्ने जानकारी प्राप्त गर्दछन् ।

सह–पुस्ताकालयध्यक्ष पूर्णलाल श्रेष्ठले आइएसबिएन नम्बर लिने लेखकको सङ्ख्या बढेको बताउनुभयो । पुस्तकका बारेमा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार हुने भएकाले उक्त नम्बर लिने गरेको उहाँले जानकारी गराउनुभयो ।

विश्वभरि आइएसबिएमको २५६ देश सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया