शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

पाल्पा –  सहज सुलभसँग स्वास्थ्य सेवाको पहुँच आमजनता माझ पुर्याउने  उद्देश्यले स्थापना भएको सहलकोट स्वास्थ्य चौकीको भवन अहिले जीर्ण अवस्थामा रहेका छन् ।

स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा उपचारका लागि यहाँ आउने बिरामी मात्र होइन, त्यहाँ कार्यरत स्वास्थ्य प्राविधिकले समेत सो भवनमा पस्न डराउने गरेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य पहलसिं सिञ्जालीले बताउनुभयो । उहाँले भवनको जीर्ण अवस्था देखेर केही बिरामीले कार्यालयभित्र पसेर जाँच तथा उपचार गराउनुका सट्टा उपचार नगराईकन पनि घर फर्कने गरेको बताउनुभयो ।

विसं २०७२ साल वैशाख १२ गते गएको भूकम्पले सो भवनमा क्षति पु¥याए थिए । जीर्ण स्वास्थ्य चौकीभित्र बसेर स्वास्थ्यकर्मीलाई पनि सेवा दिन ठूलो जोखिम सामना गर्नुपरेको स्थानीयवासी बताउँछ ।

भूकम्पपछिको केही समयसम्म स्थानीय जनजागरण केन्द्रको भवनबाट स्वास्थ्य सेवा दिए पनि सम्बन्धित पक्षले पुनः निर्माणमा चासो नदेखाएपछि चर्किएको भवनबाट सेवा दिन बाध्य भएको स्वास्थ्य चौकी प्रमुख जगत थापाले बताउनुभयो ।

“कार्यालय समयभित्र ज्यान जोखिममा राखेर काम गर्नुपर्ने बाध्यता छ, सम्बन्धित निकायमा जानकारी गराए पनि पुनः निर्माण त परै जाओस्, मर्मतसम्भार पनि हुन सकेन”, उहाँले भन्नुभयो ।

स्वास्थ्य चौकीको यो जीर्ण भवनबाट सामान्य बिरामीको जाँच तथा परीक्षण मात्र हुने गरेका छन् । लामो समयसम्म उपचार गराइराख्नुपर्ने, सलाइन दिनुपर्ने र मातृ परीक्षण सेवाका लागि आउने बिरामीलाई भने जनजागरण केन्द्रबाट नै सेवा दिने गरिएको स्वास्थ्य चौकी प्रमुख थापाले बताउनुभयो ।

विसं २०५१ सालमा स्थापना भएको दुई तले तीन कोठा सहितको सो भवनबाट सहलकोट गाविससँगै छिमेकी गाविस झिरुवास, बाकामलाङ लगायतका जनताले सेवा लिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया