बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौँ – दक्ष जनशक्ति र उपचार प्रविधिमा विकास भए पनि क्यान्सर रोगीको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।  क्यान्सरसम्बन्धी छुट्टै अस्पताल, उपचारमा थपिएका प्रविधि, क्यान्सर रोगसम्बन्धी चिकित्सक दैनिक बढिरहे पनि क्यान्सर रोग लागेर अस्पताल आउने बिरामी भने घट्न सकेका छैनन् ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपालमा क्यान्सर रोगका कारण वार्षिक १५ हजारको मृत्यु भइरहेको जानकारी दिँदै वार्षिक ४० हजार नयाँ बिरामी थपिने गरेको बताउनुभयो ।  नेपालमा फोक्सोको क्यान्सर, नाक, कान, घाँटी, आमाशयको क्यान्सर मुख्य समस्या बनेका छन् ।  त्यस्तै महिलामा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बर र स्तन क्यान्सर दोस्रो नम्बरमा आउने गरेको छ ।

नेसनल क्यान्सर अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाले क्यान्सरको उपचार हुने सबै अस्पतालमा मुख र घाँटीको क्यान्सर अस्वाभाविक ढङ्गले बढ्दैगएको जानकारी दिँदै समयमै क्यान्सर रोगको उपचार हुनसके पूर्णरूपमा निको हुने बताउनुभयो ।  विकसित देशको तुलनामा नेपालमा  क्यान्सर रोगका बिरामी बढिरहेको भन्दै उहाँले अस्वस्थकर जीवनशैली, धूमपान र मद्यपान क्यान्सरको मुख्य कारकतत्व भएको बताउनुभयो ।  सरकार मातहतमा रहेका १२ वटा अस्पतालको तथ्याङ्कले मात्र हरेक वर्ष १० हजार क्यान्सरका नयाँ रोगी पत्ता लाग्ने गरेका छन् ।

क्यान्सर रोग विशेषज्ञ डा. पियाले  पछिल्लो समय नेपालमा क्यान्सर रोगको अवस्था डरलाग्दो रूपले बढेको बताउनुभयो ।  नेपालमा तेस्रो वा चौथो अवस्थामा मात्र क्यान्सर रोगका बिरामी आउनेगरेको भन्दै उहाँले त्यस्ता बिरामीका लागि आयु लम्ब्याउन मात्र सकिने जानकारी दिनुभयो ।  क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बरालले सरकारी अस्पतालको तथ्याङ्क अनुसार पनि प्रतिवर्ष १० हजार नयाँ रोगी पत्ता लाग्नेगरेको जानकारी दिनुभयो ।

डा. बरालले हजारौं क्यान्सरका बिरामी नेपालमा क्यान्सर रोगको उपचार नगराई भारत, थाइल्यान्ड, अमेरिका, सिँगापुर, जापान जस्ता विकसित देशमा उपचार गर्न जाने हुनाले नेपालमा क्यान्सर रोगीको सङ्ख्या अत्यधिक हुनसक्ने बताउनुहुन्छ ।  नेपालमा पुरुषभन्दा महिलालाई क्यान्सर रोग बढी देखापर्ने गरेको जानकारी दिनुभयो ।  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अनुसार  फोक्सोको क्यान्सर १३, पाठेघरको मुखको क्यान्सर १०  प्रतिशत, स्तन क्यान्सर सात प्रतिशत, आमाशयको क्यान्सर छ प्रतिशत रहेको छ ।   महिलालाई मात्र १८ प्रतिशत पाठेघर, १५ प्रतिशत स्तन र १० प्रतिशत फोक्सोको क्यान्सर हुने गरेको छ ।

डा. बरालले उपचारमा नयाँ–नयाँ प्रविधि भित्रिए पनि क्यान्सर रोग बढ्नुमा मानिस सचेत भएर अस्पताल जान थालेर क्यान्सर पत्ता लागेको हुनसक्ने बताउनुभयो ।  उहाँले अब देशलाई सुर्तीजन्य पदार्थबाट पूरै बन्देज नलगाएसम्म क्यान्सर भयावह रूपमा वृद्धि हुँदै जाने जानकारी पनि दिनुभयो ।  बरालले सुर्तीजन्य पदार्थलाई नेपालमा बन्देज लगाउनसके ४० प्रतिशत क्यान्सर रोगका बिरामी घट्ने अनुमान गर्नुभयो ।  डा. बरालले भुटानमा सुर्तीजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।  नेपालमा पनि त्यसैगरी बन्देज गर्र्ने हो भने ४० प्रतिशत क्यान्सर घटाउन सकिन्छ भन्नुभयो ।

डा. बरालले पछिल्लो समय नेपालमा १५÷२० वर्षका युवतीको स्तन क्यान्सर मुख्य समस्याका रूपमा देखापरेको जानकारी दिनुभयो ।  मैले उपचार गराएका मध्ये धेरै युवतीलाई स्तन क्यान्सर भएको छ ।  युवतीको स्तन क्यान्सर केही वर्ष अघिसम्म नेपालमा थिएन डा. बरालले भन्नुभयो ।  क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले गत वर्षमात्र नेसनल क्यान्सर हस्पिटल हरिसिद्धिमा एक हजार नयाँ क्यान्सरका रोगी पत्ता लागेको जानकारी दिनुभयो ।  डा. श्रेष्ठले गत वर्ष एक लाख पाँच हजारको ओपीडी सेवा लिएकोमा एक हजार जनालाई क्यान्सरको लक्षण देखिएको जानकारी गराउनुभयो ।

 

तपाईको प्रतिक्रिया