शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – यो हप्ता सुनको भाउ समग्रमा २१ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आइतबारदेखि नै घट्न थालेको सुनको भाउ अन्तिम दिन शुक्रबार तोलाको ५६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार पहिलो दिन आइतबार तोलाको ५८ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार ५७ हजार ९ सय रुपैयाँमा झरेको थियो । त्यसपछि मंगलबार एक सय रुपैयाँले घटेर ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार एकैदिन तोलामा ११ सय रुपैयाँले घटेर ५६ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार चार सय रुपैयाँले घटेर ५६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अन्तिम दिन शुक्रबार तोलाको ५६ हजार रुपैयाँमा झरेको हो । यस्तै चाँदीको भाउ पनि यो हप्ता तोलामा ५५ रुपैयाँले घटेको छ । आइतबार आठ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलाको आठ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

डलर मजबुत हुँदै गएको र पाउण्ड कमजोर हुँदै गएकाले सुनमा लगानी कम हुँदा भाउ घटेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अमेरिकामा रोजगारी बढेपछि डलर मजमुत हुँदै गएको हो ।

तपाईको प्रतिक्रिया