बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौँ – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकप्पपीडितको आवास निर्माणका लागि अब निर्माण सामग्री र आवश्यक कर्मी (डकर्मी, सिकर्मी, कालीगढ)को व्यवस्थापन कार्यलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज ललितपुरमा आयोजित नियमित पत्रकार भेटघाटमा लाभग्राहीको सूचीमा परेका र भूकम्प प्रतिरोधी घर निर्माण गरेकाहरुलाई अनुदान प्राप्तिमा अब कुनै समस्या आउन नदिइने प्रतिबद्धता जनाउनुभयो ।

भूकम्पपछिको पुनःनिर्माण सम्बन्धमा हालसम्म करिब १५ हजार प्राविधिक जनशक्ति उत्पादन भएको जानकारी दिँदै उहाँले अब छिट्टै १५ हजार घर निर्माण गर्ने जनशक्ति उत्पादन गरिनेछ भन्नुभयो । “आवास निर्माण गर्दा स्थानीय स्रोतसाधनको प्रयोगलाई प्रोत्साहन गरिनाका साथै निर्माण सामग्री सङ्कलनमा अब जोड दिइनेछ” उहाँले जोड दिनुभयो ।

प्राधिकरणका कार्यमा सरकार र सबै राजनीतिक दलका तर्फबाट पूर्ण सहयोग प्राप्त भइरहेको जनाउँदै ज्ञवालीले भन्नुभयो, “पुनःनिर्माणमा संलग्न गैरसरकारी संस्थाको कामलाई पनि प्रक्रिया र विधिसम्मत बनाउन अनुगमनलाई प्रभावकारी बनाइने छ ।”

भूकम्पबाट क्षति भएका करिब सात लाख ५० हजार आवासको निर्माण हुने तथा आंशिक क्षति भएका करिब दुई लाख घरको भने सबलीकरण गरिने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया