शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

accidentचितवन – पूर्व गृहमन्त्री माधव घिमिरे चढेको जीप आइतबार अपराह्न त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।

घिमिरेसहित तीन जना भने नदीमा वेपत्ता भएका छन् । वेपत्ता भएकाहरुको खोजी सोमबार विहानैदेखि फेरि थालिएको छ । खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट घिमिरे चढेको बा ९ च १५३१ नम्बरको स्कार्पियो जीप नदीमा खसेको थियो ।

दुर्घटनामा घिमिरेकी आमा चैतन्या, सुरक्षा गार्ड सशस्त्र प्रहरीका सहायक निरीक्षक रामचन्द्र कार्की र घिमिरका आफन्त नारायण काफ्लेको मृत्यु भएको हो । वेपत्ता हुनेमा पूर्व गृहमन्त्री घिमिरे, उनका दुई भाई मोहन र प्रकाश घिमिरे छन् । प्रकाश घिमिरे राष्ट्रिय खेलकुद परिषदको प्रतियोगिता बिभाग प्रमुख हुन् ।

गाडीका चालक विष्णु राईलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि भरतपुर लगिएको कुरिनटारस्थित सशस्त्र प्रहरीका एसपी गणेशबहादुर थापाले जानकारी दिए । उनीहरु मुक्तिनाथ गएर काठमाडौं फर्कंदै थिए । पूर्व मूख्य सचिवसमेत रहेका माधव घिमिरे २०६९ सालमा गठीत खिलराज रेग्मी सरकारमा गृहमन्त्री थिए ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व गृहमन्त्री घिमिरेको त्रिशूली नदीमा जीप खसेर बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्री दाहालले ट्वीटरमार्फत घिमिरेको सवारी दुर्घटनामा परेको खबरप्रति स्तब्ध भएको भन्दै खोजीका लागि प्रशासनलाई निर्देशन दिएको जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया