शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक विकासका लागि आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधिमण्डलसँगको भेटवार्तामा दाहालले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास जरुरी भएको बताउनुभएको हो । आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर नै अगाडि बढ्ने उल्लेख गर्दै उहाँले रोजगारी अभिवृद्धि गर्ने कार्ययोजना ल्याउन उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभयो । दाहालले भन्नुभयो,‘लाखौँ युवा वैदेशिक रोजगारीमा गएका छन् । उनीहरूको जीवन कष्टकर अवस्थामा छ । स्वदेशमै रोजगारीको वातावरण नबनाउने हो भने थप जटिलता पैदा हुन्छ । सरकार प्रभावकारी रूपमा कार्ययोजना ल्याउने तयारीमा छ । निजी क्षेत्रको पनि त्यसमा सकारात्मक सहयोग जरुरी छ ।’

प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाका अनुसार आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै युवालाई रोजगारी दिने विषयमा नीतिगत निर्णय गरेको जानकारी दिँदै सोहीअनुसार कार्यक्रम ल्याउने र त्यसमा सहयोग गर्न चेम्बरका प्रतिनिधिमण्डललाई आग्रह गर्नुभएको थियो । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक विधेयकहरु तत्काल अगाडि बढाउन, आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न आफूहरुले प्रधानमन्त्रीसँग विशेष आग्रह गरेको जानकारी दिनुभयो ।

उहाँले मुलुकको व्यापार घाटा बर्से्नि बढ्दै गएकाले त्यसलाई कम गर्न निर्यात बढाउन र निर्यातजन्य उद्योगलाई अनुदान उपलब्ध गराउन तथा कर छुट गर्ने वातावरण बनाइदिन विशेष ध्यानाकर्षण गराइएको बताउनुभयो । चेम्बरले रोजगारी अभिवृद्धिका लागि ठोस खाका र कार्ययोजना ल्याए सरकारलाई पूर्णरुपमा साथ दिन संस्था तयार रहेको बताएको थियो ।

यस्तै, कालोबजारी ऐन संशोधन गर्न, तातोपानी नाका खुलाउन तथा पूर्वाधार विकासका योजना अघि बढाउन चेम्बरले आग्रह गरेको थियो । 

तपाईको प्रतिक्रिया