शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
रेखा थापा बद्नाम छिन्, त्यसैले हिट पनि छिन्। छोटो पहिरन लगाउँछिन्, त्यसैले उनलाई व्यङ्ग्यकारहरू देखा थापा भन्छन्। धेरैपटक चर्चित  हिरोलाई उनले चलचित्रबाट निकालेर आफ्नो बाहुबल देखाइसकेकी छिन्। कहिले प्रचण्डसँग नाचेर, कहिले धार्मिक आस्थामा खलल पुग्ने गरी  बस्त्र लगाएर रेखाले परम्परावादीहरुलाई झड्का दिइसकेकी छिन्। १२ वर्षअघि चलचित्र हिरोमा अभिनय गर्दै यो क्षेत्रमा प्रवेश गर्दा १० कक्षा  पढ्ने चञ्चले एवं अबोध रेखा अहिले राजनीति गर्नेसम्मको महत्वकांक्षा पाल्न थालेकी छिन्। उनीसँगै चलचित्रमा प्रवेश गरेका चर्चित नायिका  बिपना थापा, सज्जा मैनाली, जल शाह, निरुता सिंह लाखापाखा लागिसकेका छन्। विवाहित रेखा भने चलचित्रमा जमेकी मात्र होइनन्,  लगातार हिट चलचित्र दिइरहेकी छिन्। यतिखेर उनको सयौं चलचित्र ‘रावण’ प्रदर्शनको तयारीमा छ भने श्रीमान्सँगको खट्पटले बजार ताते को छ। सधैं हलुका मसला बनाइने रेखा थापाले यसपटक साप्ताहिकका अश्विनी कोइरालासँग भनिन्, ‘म बजारमा सस्तो प्रचार मात्र भएँ,  अलिकति गम्भीर कुरा गरौं है।’
तपाईंको सयौं चलचित्र ‘रावण’प्रदर्शनको तयारीमा छ, मैले सय वटा चलचित्रमा अभिनय गरिसकेंभन्दा कस्तो लाग्छ ?
 कति चाँडै समय बित्दो रहेछ। पहिलो चलचित्र खेल्दा १६ वर्षकी थिएँ। पर्दामा देखिने रहर मात्र थियो, बाँकी केही थाहा थिएन। आज २८ वर्षे  परिपक्व युवती भएर १२ वर्ष पछाडि र्फकंदा मलाई ईश्वरले समयभन्दा अघि र भाग्यभन्दा धेरै दिए भन्ने लाग्छ।
 पहिलो चलचित्र खेल्दाकी रेखा थापा र अहिले सयौं चलचित्र खेल्दाको अनुभव कस्तो छ ?
 धेरै फरक छ। पहिले राम्रो देखेर यो क्षेत्रको भोक लागेको थियो। अहिले चाहिँ भोक लागेर यो क्षेत्रमा लागिरहेकी छु। म यो क्षेत्रमा प्रवेश गर्दा  नेपाली चलचित्रको कथामा नायिकाहरू गौण थिए, अहिले उनीहरू महत्वपूर्ण पात्रका रूपमा विकसित भएकाले आफ्नो भूमिका पनि बढिरहेको  महसुस गर्छु।
 तपाईंले जे पाउनुभयो, त्यसको योग्य हुनुहुन्थ्यो ?
 साँच्चै भन्ने हो भने थिइन्। मैले सधैं समयलाई च्यालेन्ज गरे। जे गर्छु भन्ने लाग्यो, त्यसलाई गरिछाडे। रात-दिन केही भनिन्। ममा चलचित्रमा  जम्ने भूत सवार भएको थियो। चलचित्रभित्र  निरन्तर लागिरहें। मेहनत, इमान्दारिता र चलचित्र क्षेत्रको लगावले नै मलाई यहाँसम्म ल्याई  पुर्‍यायो।
 रेखा थापा अंग प्रदर्शन गरेकै भरमा नेपाली चलचित्रमा जमिन् भन्छन्, तपाईंलाई के लाग्छ ?
 म त्यो बेला यो क्षेत्रमा प्रवेश गरें, जुन बेला नेपाली चलचित्रमा सासुको यातना सहने पीडित बुहारी हेर्दा-हेर्दा दर्शकहरू वाक्क हुन थालेका  थिए। नेपाली दर्शक चलचित्रमा नाम मात्रका हिरोइन भएको कथाबाट मुक्त हुन चाहन्थे। मेरो आगमनले नायिकामा केही बोल्ड क्यारेक्टर थपेकै  हो। यद्यपि म अङ्ग प्रदर्शनकै कारण जमे भन्ने कुराचाहिँ अज्ञानीले गर्ने कमेन्ट हो। मैले अहिलेसम्म कतै अश्लील दृश्य दिएको छैन, न त  कसैलाई टङ किस नै गरेको छु। अङ्ग प्रदर्शनकै कारण कोही स्थापित हुने भए मेरा समकालीन धेरै नायिकाले देखाउन मिल्नेसम्मको तस्बिर  छापाए, चलचित्रमा टङ किस दिए। पानीमा भिजेर बोल्ड दृश्य दिए। आज उनीहरू कहाँ छन् ? नेपाली दर्शक त्यति मूर्ख छैनन्, जति उनीहरू लाई सोचिन्छ।
 तर चपली हाइटकी विनिता बरालको खुब प्रशंसा  गर्नुभयो…?
 मैले विनितालाई खुलेर अङ्ग प्रदर्शन गरिछौं स्यावास भनेकी होइन। चपली हाइटको हिरो भनेकै बिनी हुन्, दुई हिरो त सहायक पात्र मात्र हुन्।  एउटी महिलालाई केन्द्रमा राखेर बनेको चलचित्र र त्यसमा उनले गरेको अभिनयको मैले प्रशंसा गरेकी हुँ। यस्तो चलचित्रमा काम गर्दा  मानिसले कति उडाउँछन् भन्ने मलाई थाहा छ। विशेषगरी महिला नै महिलाका सत्रु हुन्छन्। प्रतिस्पर्धी नायिकाहरू नै डाहा गर्छन्, नराम्रा हल्ला  फैलाएर यो क्षेत्रबाट भगाउन खोज्छन्। उनले त्यो भोग्नु नपरोस्, उनलाई हौसला मिलोस् भनेर प्रशंसा गरेकी हुँ। पुरुषले जानेर कसैको घर  भत्काउँदैन, तर महिलाहरूले जानि-जानि महिलाको घर भत्काएको मैले देखेकी छु। म  महिलालाई हत्तोसाहित गर्ने नारीहरूको विरुद्धमा छु।
 रेखा थापा र स्क्यान्डल एक अर्काका पूरक मानिन्छन्, किन ?
 ईश्वर साक्षी छन्, मैले कहिलै पनि स्क्यान्डल बनाउँछु भनेर केही गरिन। मनले खटाएको काम गर्दा त्यो स्क्यान्डल भैदिन्छ। प्रचण्डजीले मलाई  बोलाउनुभयो, त्यहाँ मैले उहाँसँग नाच्ने मौका पाएँ, खुसीले नाचिदिएँ। किनभने प्रचण्डजीका लागि त्यहाँ उपस्थित व्यक्तिहरू कार्यकर्ता थिए,  मेरा लागि दर्शक। दर्शकको खुसीका लागि मैले नाच्नु पथ्र्यो, नाचिदिएँ। कहिलेकाहीँ त मलाई के अचम्म लाग्छ भने रेखा थापाले भाइटीका लगाउँदा पनि समाचार, होचो व्यक्तिलाई किस खाँदा पनि समाचार।  हुँदा-हुँदा जोई-पोइबीचका स-साना घटना पनि समाचार हुन थालेका छन्। मेरो पोस्टर च्यातिदा,  छोटो लुगा लगाउँदा वा कसैका बारेमा कमेन्ट गर्दा पनि त्यो स्क्यान्डल भैदिन्छ। कहिलेकाहीँ लाग्छ, रेखा थापासँग पक्कै पनि केही छ, जसमा  मानिसको चासो छ।
 १२ वर्षे इतिहास पल्टाउँदा रेखा थापाको कसै न कसैसँग प्रोब्लम भएको देखिन्छ, बिना सत्रु रेखाको जीवन चल्दैन ?
 म अलिकति इगोइस्ट छु। मलाई कसैले अपहेलना गरेको मन पर्दैन। जसले जस्तो व्यवहार गर्‍यो, त्यसको जवाफ दिन्छु। त्यसपछि म सफा  हुन्छु, मनमा रिस पालेर बस्दिनँ। त्यसैले मेरा कोही सत्रु छैनन्।
 तपाईंको पुराना सबै हिरोसँग टक्कर परेको छ, किन ?
 को-कोसँग पर्‍यो ? मेरो त सबैसँग समान व्यवहार छ। मलाई त त्यस्तो लाग्दैन।
 राजेश हमाल, निखिल उप्रेती अनि विराज भट्ट…..?
 राजेश हमालसँग १२ वर्षअघि पहिलो फिल्म खेल्दा म नयाँ कलाकार थिएँ। त्यसबेला मलाई उहाँजस्तो अनुभवीले सहयोग गर्नुपर्थ्यो। सहयोगको  त परको कुरा उहाँले मसँग तस्बिर खिच्न पनि मान्नुभएन। त्यो उहाँको घमन्ड थियो।  पछि जव म हिट भएँ, उहाँले मसँग तस्बिर खिच्ने  इच्छा राख्नुभयो, मैले अस्वीकार गरिदिएँ। मैले रिसले त्यसो गरेकी थिइनँ, उहाँलाई थाहा होस्, राजेश हमालले पनि गल्ती गर्न सक्छ। बस  त्यही घटना बजारमा स्क्यान्डलका रूपमा आएको  हो। निखिल उप्रेतीको के कुरा गर्नु ? जसको घरमा दुई श्रीमती छन्, दर्जनौं समस्या छन्,  उसको बाहिर समस्या हुनु ठूलो कुरा होइन। यसमा म दोषी छैन। विराज भट्टलाई मैले इन्डस्ट्रीमा ल्याएकी हुँ। सिनियरको अलिकति इज्जत त  गर्नैपर्छ नि, त्यो नभएपछि मैले अलिकति रियाक्ट गरेकी हुँ।
 घरमा पनि समस्या छ, किन होला ?
 श्रीमान्-श्रीमतीबीच कहाँ मतभेद छैन ? कुनै यस्तो घर देखाउनु होस्, जहाँ समस्या छैन।
 अलिकति समस्या भए त ठीकै थियो, यहाँ त सम्बन्धबिच्छेदकै हल्ला आइरहेको छ….?
 म छविभन्दा २० वर्षले कान्छी छु। मैले उहाँको उमेर बाँचेकी छैन, त्यो उमेरका समस्या र अप्ठयारा बुझ्न सक्दिनँ तर उहाँले त मेरो उमेर  पार गरिसक्नु भएको छ। उहाँलाई मेरो उमेरका अप्ठारा र समस्या थाहा हुनुपर्ने हो। त्यसलाई नबुझिदिँदा अलिकति प्रोब्लम हुन्छ। यद्यपि उहाँले  मलाई स्वतन्त्रता दिनुभएको छ। एकजना कलाकारका लागि यो ठूलो कुरा हो। जहाँसम्म सम्बन्धविच्छेदको हल्ला छ, जुन दिन मलाई लाग्छ,  अब सम्बन्ध बढाउन सकिन्न, त्यही दिन म तपाईंलाई नै बोलाएर सम्बन्धविच्छेदको घोषणा गर्छु। मन मिल्दैन भने एकै ठाउँमा बस्नुको अर्थ  पनि छैन।
 जे होस्, दुई जनाबीच मन नमिलिरहेको कुराचाहिँ सत्य हो, हगि ?
 हामी महिनामा करिब २० दिन बोल्दैनौ। त्यसको अर्थ मन नमिलेर होइन, बोल्ने कामै नपरेर  हो।
 तपाईंका समकालीन नायिकाहरू धमाधम आमा भैरहेका छन्, तपाईंको सुरसार पनि छैन… ?
 धमाधम चलचित्र पाइरहेकी छु दुई वर्षका लागि प्याक छु। उमेर पनि भर्खरै छ। अरुले जसो गरे, म त्यहि गर्ने युवती होइन। रेखा आमा भइन्,  त्यसैले श्रीमान्सँग प्रोब्लम छ भन्ने चाहिँ उडन्ते गफ हुन्। आमा हुने उपयुक्त समय आफैले निर्धारण गर्ने हो। रेखा थापा आमा बन्ने भएपछि  रेखाले नै त्यसको निर्धारण गर्छे, अरूले गर्ने होइन।
 रेखा आमा बनेपछि उसको सन्तानको थर के हुन्छ, ओझा कि थापा ?
 दुःख गरेर आमा बन्ने म, थर श्रीमान्को ? यो त सोह्रै आना अन्याय हो। म कहिलै पनि त्यसो हुन  दिन्न। मेरो सन्तानको थर थापा नै हुन्छ।  यो मेरो भीष्म प्रतीक्षा हो।
 पहिले मज्जाले रक्सी पिउनु हुन्थ्यो रे, अहिले रक्सी नपिउने ब्रत लिनुभएको हो ?
 मज्जाले पिउने भन्ने कुरा पनि हल्लै हो। एक-दुई गिलास पिउँथे। तर बुवाको निधन हुने बेलामा छोरी तैले डि्रंक्स गरेको पटक्कै सुहाएन, तैले  मलाई वचन दिनुपर्‍यो, अनि मात्र राम्रोसँग मेरो सास जान्छ भन्नुभयो। मेरो बुवा, जसले रेखाले गरेका कतिपय लहडी निर्णयलाई स्वीकार  गर्नुभयो, त्यस्तो व्यक्तिले स्वर्गे हुने बेलामा केही माग्नुभयो भने किन नदिने भनेर नपिउने प्रण गरेकी हुँ। चार वर्ष भयो, मैले रक्सी छोएकी  पनि छैन।
 त्यही भएर चुरोट पिउन थाल्नुभएको ?
 तपाईंले त नछाड्ने हुनुभयो। एउटा चलचित्रमा चुरोट पिउने भूमिका निर्वाह गरेकी थिएँ। त्यसबेला पिउने बानी भयो। कहिलेकाहीँ मस्तीको  मुडमा दुई चार सर्को तान्छु। दुई-चार सर्को मात्रै, किनभने मलाई थाहा छ, धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ।

तपाईको प्रतिक्रिया