समाचार सुन्नुहोस :
काठमाडौँ – कास्की जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द गर्न सरकारलाई आदेश दिएको छ। शुक्रबार न्यायाधीश हिमाल बेलबासेको एकल इजलासले राहदानी विभागलाई यस्तो आदेश जारी गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पूर्व व्यवसायिक साझेदार समेत रहेका राईलाई देशका विभिन्न सहकारीमा ठगी गर्दै सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोप छ। राहदानी रद्द नभएकाले उनलाई मलेसियाबाट नेपाल फर्काउन नसकिएको सरकारी अधिकारीहरूको भनाइ छ।
पाँच सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त मानिएका राईलाई नेपाल फर्काउन सरकारी तहबाट लामो प्रयास भए पनि सफलता मिलेको छैन। यसअघि अदालतले प्रहरीलाई राईको राहदानी रोक्का गर्न अनुमति दिएको थिएन। तर, प्रहरीले अदालतको निर्णयलाई पर्खनु अघि राहदानी विभागलाई रोक्का राखिदिन पत्राचार गरिसकेको थियो।