काठमाडौं – काठमाडौं बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । शुक्रबार मुम्बईको बान्द्रा प्रहरीले एक व्यक्तिलाई हिरासतमा लिएको हो ।
ती व्यक्तिसँग प्रहरीले सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ । प्रहाका अनुसार सैफलाई छुरा प्रहार गरेपछि ती व्यक्ति सिसिटिभीमा बान्द्रा रेलवे स्टेसन नजिकै देखिएका थिए । उसै इलाकाबाट उनलाई प्रहरीले हिरासतमा लिएको हो ।
ती व्यक्ति १५ जनावरीको राति २:३० बजे सैफको घरको छठौं तलाबाट तल झरिरहेको देखिएका थिए । यस हमलामा अभिनेता सैफको जिउमा ६ वटा चोट लागेको छ । तीमध्ये दुइटा चोट गहिरो छ । एउटा चोट घाँटीनजिक र अर्को चोट मेरूदण्ड नजिक रहेको डा. निरज उत्तमानीले भनेका छन् ।
घटना भएको समयमा सैफकी श्रीमती करिना कपुर घरमा थिइनन् । सैफ सहयोगी र दुई छोराहरूसँग घरमै थिए । करिना आफ्नी दिदी करिश्मासँग एक पार्टीमा रहेको भनिएको छ । एक व्यक्ति घरमा प्रवेश गरेपछि सैफका सहयोगीले रोक्ने प्रयत्न गरेका थिए। त्यसपछि सैफ आफै ती व्यक्तिलाई रोक्न जाँदा छुरा प्रहार गरेर भागेको भनिएको छ। त्यस क्रममा सैफ र ती व्यक्तिबीच केहीबेर घम्साघम्सी भएको थियो ।