-
कांग्रेस-एमालेभन्दा पनि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको सरकारबारे चासो बढेको छ
काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेको सात बुँदे सहमतिको जगमा बनेको वर्तमान गठबन्धन सरकारले ६ महिनाको समय पार गरेको छ । तर, यो अवधि पार गर्दैगर्दा सरकारको स्थायित्वबारे उठेका प्रश्नहरू नेपाली राजनीतिक वृत्तमा चुलिएका छन् ।
नेपालमा राजनीतिक समीकरणहरू छिटोछिटो बदलिने प्रचलन जस्तै बनिसकेको छ । त्यसैले फेरि नयाँ राजनीतिक कोर्सको तयारी भइरहेको हुनसक्ने अनुमानले चर्चा पाएको छ । सरकार ढल्ने हल्लाले बजार तताइरहेकै बेला गठबन्धन दलहरूले भने एकता प्रदर्शन गर्ने प्रयास गरिरहेका छन् । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको सम्बन्ध सतहमा सुमधुर देखिन्छ ।
दुवै नेताबीच निरन्तर संवाद भइरहेको छ । देउवाकी पत्नी आरजु राणा परराष्ट्रमन्त्रीका रूपमा ओली सरकारमा सक्रिय छन् । ओली र देउवाको सुमधुर सम्बन्ध रहेको बेला सरकार ढल्ने हल्लाले चर्चा आउनुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् । यसको पछाडि मुख्य प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिले ठुलो भूमिका खेलेको पाइन्छ ।
केही दिनअघि सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा दाहालले सरकार आफैं कमजोर भइसकेको र आफूहरूले सरकार ढाल्न बल गर्न नपर्ने टिप्पणी गरेका थिए । उनको भनाइपछि काठमाडौँ फर्किएर प्रचण्डले विपक्षी दलहरूको बैठक आह्वान गरे, जसले सरकारका पछिल्ला निर्णयहरूको आलोचना गर्दै राजनीतिक विवादलाई थप गहिर्यायो ।
विपक्षी दलहरूले सरकार ढल्ने हल्ला उचालेपछि सत्तारूढ दलमा पनि हलचल भयो । परिस्थिति सामान्य बनाउन प्रधानमन्त्री ओलीले बैठक बोलाउनुपर्यो । बैठकमा प्रमुख गठबन्धन नेताहरू- प्रधानमन्त्री ओली, सभापति देउवा, उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री आरजु राणा देउवासमेत सामेल थिए ।
बैठकपछि सरकारले तस्बिर सार्वजनिक गर्दै एकता कायम रहेको सन्देश प्रवाह गरेको छ । तर, यस्तो सन्देशले मात्र हल्लालाई पूर्णतः चिर्न नसक्ने प्रष्टै थियो । त्यसैकारण प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमार्फत सरकार ढल्ने हल्लालाई ‘दिनरात चलिरहेको अफवाह’ भन्दै खण्डन गरेका छन् । कांग्रेस सभापति देउवाले पनि मन्त्रीहरूलाई बोलाएर गठबन्धन बलियो रहेको सन्देश दिनुपर्यो ।
सरकार ढल्ने हल्ला केही हदसम्म यथार्थभन्दा बाहिर देखिए पनि भित्री तयारीलाई नकार्न सकिन्न । कांग्रेसभित्रका केही नेताहरूले समीकरण बदल्न केही प्रयास भएको भए पनि हालका लागि असम्भव रहेको बताएका छन् । सभापति देउवाको स्वीकृति नहुँदासम्म सरकार ढल्न नसक्ने ती नेताहरूको दाबी छ । देउवा र ओलीबीच असमझदारी नभएसम्म गठबन्धन कायम रहने प्रस्ट छ । तर, यो समीकरण भित्र्याउने चासो आन्तरिक राजनीतिमा मात्र सीमित छैन ।
कांग्रेस र एमालेको आन्तरिक राजनीतिक कारणभन्दा पनि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको चासो सरकारबारे बढेको पाइन्छ । खासगरी प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा बिआरआईको कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेपछि भारतीय पक्ष सरकारसँग चिढिएको छ । नेपाली राजनीतिमा भारतीय प्रभावको दायरा बुझेकाहरूले नै वर्तमान सत्ता गठबन्धन लामो समय नटिक्ने दाबी गरिरहेको बुझ्न गाह्रो छैन ।