काठमाडौं – ओपनर लाहिरु मिलन्थाको आक्रमक अर्धशतकमा पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधी जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै जितेको छ । शनिवार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिममाथि ५ विकेटको जित हात पारेको हो ।
जितसँगै च्याम्पियन जनकपुरले ट्रफी सहित नगद १ करोड १० लाख प्राप्त गरेको छ । पराजित हुदै उपविजेतामा सिमित बनेको सुदूरपश्चिमले नगद ५१ लाख प्राप्त गरेको छ । सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमका लागि लाहिरु मिलन्थाले सर्वाधिक ८७ रन जोडे । उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गरेको थियो ।
यस संस्करणमा यसअघि जनकपुर र सुदूरपश्चिमबीच दुई पटक भेट भएको थियो । दुवै खेलमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो । एनपिएलमा तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।