काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल तयार गर्यो ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको छ ।
कर्णालीले भने बुधबार भएको इलिमिनेटर खेलको विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजमाथि २१ रनको जित हात पारेको थियो ।
कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधीको लागि खेल्नेछ । पराजित एनपिएलबाट बाहिरिने छ ।
लिगचरणको भेटमा कर्णाली जनकपुरसँग ८ विकेटले विजयी भएको थियो । फाइनल खेल शनिबार हुनेछ ।