काठमाडौं – जर्मनीको बर्लिनबाट बुधबार प्रस्थान गरेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको राजधानी नयाँदिल्ली आइपुगेकी छन् । उनी आज बिहान साढे ८ बजे नयाँदिल्लीस्थित विमानस्थलमा अवतरण गरेकी हुन् ।
विमानस्थलमा भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले औपचारिक स्वागत गरे । यसअघि मन्त्री राणाले बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, र जर्मनीको भ्रमण पूरा गरेकी थिइन् ।
जर्मनीको भ्रमणको क्रममा मन्त्री राणाले यौनिक र लैंगिक अल्पसंख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन-२०२४ मा सहभागिता जनाएकी थिइन् । उनले सम्मेलनमा लैंगिक अल्पसंख्यकहरूले भोग्नुपरेका हिंसा, उत्पीडन, र प्रणालीगत असमानताका चुनौतीबारे आफ्ना विचार प्रस्तुत गरिन् ।
उनले नीति निर्माणमा आधारभूत रूपान्तरण आवश्यक रहेको औँल्याउँदै नारीवादी परराष्ट्र नीतिले दीर्घकालीन प्रभावकारी परिवर्तन ल्याउन सक्ने सम्भावनाबारे चर्चा गरिन् । भ्रमणको सिलसिलामा मन्त्री राणाको सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा लैंगिक समानता र समावेशिताको आवाजलाई थप बलियो बनाएको छ ।