समाचार सुन्नुहोस :
काठमाडौँ – फ्रान्समा ६२ वर्षपछि पहिलो पटक अविश्वास प्रस्ताव पारित भई सरकार ढलेको छ। तीन महिनाअघि मात्र प्रधानमन्त्री बनेका मिशेल बर्निये सोमबार संसदमा अविश्वास प्रस्ताव पारित भएपछि पदमुक्त भएका छन्। बीबीसीका अनुसार, सन् १९६२ पछि यो पहिलो पटक फ्रान्समा अविश्वास प्रस्तावबाट सरकार ढलेको छ। प्रधानमन्त्री बर्नियेविरुद्ध दक्षिणपन्थी र वामपन्थी दलका सांसदहरूले दर्ता गरेको प्रस्तावमा बहुमतका साथ ३३१ सांसदले समर्थन जनाए। प्रस्ताव पारित गर्न २८८ मत आवश्यक थियो।
९१ दिनमात्र प्रधानमन्त्रीको रूपमा रहेका बर्निये फ्रान्सको इतिहासमा सबैभन्दा कम समय पदमा बस्ने प्रधानमन्त्री बनेका छन्। यसअघि, यसै वर्षको जुलाईमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत हासिल गर्न नसक्दा राष्ट्रपति इम्यानुअल म्याक्रोले बर्नियेको नेतृत्वमा सरकार गठन गरेका थिए।
सरकार ढल्नुको प्रमुख कारण सामाजिक सुरक्षा बजेटको विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच चर्किएको विवाद हो। प्रधानमन्त्री बर्नियेले संसदमा मतदान नगराइकन बजेट पास गर्ने निर्णय गरेपछि राजनीतिक संकट उत्पन्न भएको थियो।प्रधानमन्त्री बर्निये आज आफ्नो राजीनामा राष्ट्रपति म्याक्रोसमक्ष पेस गर्ने तयारीमा छन्। सरकार ढलेसँगै आगामी वर्ष सन् २०२५ को बजेट व्यवस्थापनमा थप चुनौती आउने आशंका गरिएको छ।