समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको चारदिने औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्कँदै छन्। जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंसिर १७ गते उनी चीन पुगेका थिए।
भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले बेइजिङमा चीनका राष्ट्रपति सी जिनपिङसँग महत्वपूर्ण वार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार यो भेटमा नेपाल–चीन सम्बन्धलाई सुदृढ पार्नका साथै आपसी चासोका विविध विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न द्विपक्षीय समझदारीहरूमा हस्ताक्षर भएका छन्। द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगलाई थप बलियो बनाउनका लागि सम्झौताहरू सम्पन्न भएका छन्।
टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका अधिकारीहरूले हस्ताक्षर गरेका छन्। त्यसैगरी, नेपाल–चीन व्यापार वृद्धि गर्ने उद्देश्यले समेत समझदारीपत्रमा सहमति जनाइएको छ। प्रधानमन्त्री ओली आजै दिउँसो काठमाडौं आइपुग्ने छन्।