काठमाडौं – रोल्पाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणका क्रममा पाँच जना मजदुरको ज्यान गएको छ । आइतबार बिहान ९:५० बजेतिर खाल्डोमा काम गर्दै गरेका मजदुरहरूलाई माथिबाट खसेको पहिरोले पुरेपछि घटना भएको हो ।
पहिरोमा परेर मृत्यु हुनेहरूमा तीन पुरुष र दुई महिला रहेका छन् । उनीहरूको शव पहिचान गरिसकिएको रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए । मृतकहरू ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आईती परियार र ६६ वर्षीय देवीराम परियार हुन् । सबै जना रोल्पा सुनछहरी गाउँपालिका-३ बाहिरी गामका बासिन्दा र आफन्त हुन् ।
सो क्षेत्रमा खाल्डो पुर्ने काममा सात जना मजदुर संलग्न थिए । तीमध्ये दुई जना भागेर ज्यान जोगाउन सफल भएका छन् । निर्माण कार्य एल.बी. एन्ड पल्लवी जक्सन जेभी निर्माण सेवाको ठेक्कामा भइरहेको थियो । घटनास्थल रोल्पा सदरमुकाम लिवाङबाट करिब ४० किलोमिटर उत्तरपूर्वमा पर्छ ।