टोकियो – टाइगर ग्रुप अफ पोखरा नेपालको भातृसंस्था टाइगर ग्रुप अफ नेपाल जापान शाखाको आयोजनामा भोलि हालसम्मकै ठूलो धनराशी पुरस्कार रहेको भलिबल प्रतियोगिता हुने भएको छ ।
उक्त ‘प्रथम रनिङ टाइगर कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता-२०२४’ भोलि नोवेम्वर २८ तारिख बिहिबारका दिन इवाराकीमा हुन गईरहेको हो ।
आज बुधबार साँझ आयोजित एक पत्रकार सम्मेलनमार्फत आयोजकले उक्त कुराको जानकारी गराएको हो ।आयोजकका अनुसार खेलकुद, शिक्षा, स्वास्थ्य र सामाजिक अभियानका लागि क्रियाशिल संस्था टाइगर ग्रुप अफ जापानको यो पहिलो खेलकुद कार्यक्रम हो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक नबिनकुमार गुरुङले प्रतियोगिता लिग कम नक आउटका आधारमा हुने जानकारी दिए । संयोजक गुरुङका अनुसार गलकोट समाज जापान, गलकोट स्पोर्टस् क्लव जापान, पर्वत समाज जापान, टाइगर ग्रुप जापान र नेपाल युथ क्लव जापान गरी प्रतियोगितामा ५ टिमको सहभागिता रहने भएको छ । उक्त प्रतियोगिता इवाराकीकेनको उशिकुस्थित उन्दोखाइ हलमा बिहान ९ बजेदेखि राति ९ बजेसम्म हुने बताईएको छ ।
प्रतियोगितामा बिजेता टिमले ५ लाख जापानी येनका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । यो पुरस्कार राशी हालसम्मकै ठूलो पुरस्कार राशी भएको आयोजकको दावी छ । त्यसै गरी उपबिजेता टिमले जापानी येन ३ लाख तथा तेस्रो हुनेले जापानी २ लाख येन प्राप्त गर्नेछन् ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी र अन्य विधागत खेलाडीहरुका लागि समेत नगद पुरस्कारको ब्यवस्था गरिएको छ । जसअनुसार उत्कृष्ट हुने खेलाडीले जापानी येन २५ हजार, उत्कृष्ट स्पाइकर, लिबेरो, डिफेन्डर, सेटर, सर्भर, ब्लकर र प्रशिक्षकले जनही नगद १०-१० हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिएका छन् ।
‘प्रथम रनिङ टाइगर कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०२४’ सम्पन्न गर्न करीव ३० लाख जापानी येन खर्च हुने बताईएको छ ।
पत्रकार सम्मेलनमा एनआरएन आइसीसीका उपाध्यक्ष रोबिन शेरचन, एनआरएन जापानका अध्यक्ष नविन निउरे, नेपाली ब्यवसायी संघ जापानका उपाध्यक्ष शिवहरि पौडेल, नेपाल आदिबासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ, नेपाल पत्रकार महासंघ जापनका संस्थापक अध्यक्ष तिलक मल्ल लगायत खेलाडि तथा भलिवल खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजना सम्बन्धि बिषयमा केन्द्रीत रही पत्रकार र आयोजकबीच अन्तरसंवाद गरिएको थियो ।
उक्त संस्थाका सचिव भिक्टर ठाडा मगरका अनुसार खेल तथा सामाजिक क्षेत्रको अभियानमा क्रियाशिल रहन गत वर्ष टाइगर ग्रुप अफ पोखराको जापान शाखा गठन भएको हो । उक्त संस्थाको संरक्षकमा श्री गुरुङ र अध्यक्षमा चन्द्र खत्री रहेका छन् ।***