समाचार सुन्नुहोस :
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले आफ्नो हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गरेका छन्।
यात्रुहरूबाट हवाई भाडा अस्वाभाविक रूपमा महँगो भएको गुनासो आएपछि मन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय एयरलाइन्सलाई २४ घण्टाभित्र भाडादर विवरण उपलब्ध गराउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार नेपाल एयरलाइन्स, कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाइ दुबई, इण्डिगो एयरलाइन्स, एयर अरेबिया, टर्किस एयरलाइन्स, कोरियन एयरलाइन्स, सिचुवान एयरलाइन्स, मलेसियन एयरलाइन्स र जजिरा एयरले भाडादरको विवरण बुझाएका छन्।
यस्तै, अन्तर्राष्ट्रिय उडानमा देखिएको भाडा वृद्धि र कृत्रिम अभावको समस्यालाई समाधान गर्न मन्त्रालयले एक कार्यदल गठन गरेको छ। यस कार्यदलले भाडादर निर्धारण प्रक्रियाबारे अध्ययन गर्दै आवश्यक सिफारिस दिनेछ।