Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका नासाका दुई अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउन गएको स्पेसएक्सको ‘ड्र्यागन क्याप्स्यूल’ आईएसएससँग जोडिएको छ ।

उक्त यानमा बुच विल्मोर र सुनीता विलिअम्सका लागि दुई सीट खाली छ । उनीहरू अमेरिकी अन्तरिक्ष निकाय, नासाको आठदिने अभियानमा सहभागी हुँदै गत जुन महिनामा बोइङको नयाँ स्टारलाइनर क्याप्स्यूल चढेर अन्तरिक्षमा गएका थिए ।

तर उडानका क्रममा उक्त यानमा प्राविधिक त्रुटि देखा परेको थियो । त्यसपछि उनीहरू आईएसएसमै बस्न बाध्य भएका थिए । अब उनीहरू आगामी फेब्रुअरी महिनामा पृथ्वी फर्किन सक्ने ठानिएको छ ।

नासाका अन्तरिक्षयात्री निक हेग र र रुसी अन्तरिक्षयात्री अलेक्जान्डर गोर्बुनोफलाई लिएर स्पेसएक्सको उक्त क्याप्स्यूल संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित केप कन्याभरलबाट स्थानीय समयानुसार शनिवार अपराह्ण उडेको थियो ।

आईएसएसभित्र नयाँ पुगेका अन्तरिक्ष यात्रीहरू हेग र गोर्बुनोफलाई अरू अन्तरिक्षयात्रीले स्वागत गरेका थिए । उनीहरूले प्रसन्न मुद्रामा तस्बिरहरू पनि खिचेका थिए । अब हेग र गोर्बुनोफ आईएसएसको टोलीमा सम्मिलित हुने छन् भने विल्मोर र विलिअम्स फिर्ता आउने छन् । हेगले यसअघि पनि आईएसएसमा बसेर काम गरिसकेका छन् ।

नासा र रुसी अन्तरिक्ष निकाय ‘रोस्कस्मस’बीच भएको एउटा सम्झौताअनुसार तीन जना अट्ने रुसी अन्तरिक्षयान सोयुजले आफ्नो प्रत्येक उडानमा नासाका एक अन्तरिक्षयात्रीलाई र चार जना अट्ने ड्र्यागनले एक रुसी अन्तरिक्षयात्रीलाई आईएसएसमा लैजान्छन् ।

ड्र्यागन क्याप्स्यूलको प्रक्षेपण बिहीवारका लागि तय गरिएको थियो । तर समुद्री आँधी ‘हेलेन’का कारण उक्त योजना केही दिन पछि सरेको थियो । ड्र्यागन क्याप्स्यूल नजिकै पुग्दा आईएसएस अफ्रिकाको दक्षिणी भेगमा बोट्स्वानाभन्दा ४२५ किलोमिटरमाथि अन्तरिक्षमा उड्दै थियो ।

तपाईको प्रतिक्रिया