Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – उत्तरी भियतनाममा ‘सुपर टाइफुन’ यागीका कारण एक व्यस्त पुल भत्किँदा कैयौँ सवारीसाधन पानीमा डुबेका छन् । त्यस क्रममा हराइरहेका १३ जनाको खोजी भइरहेको छ ।

शनिबार भियतनाममा बज्रिएयता उक्त आँधीका कारण त्यहाँ ६० जनाभन्दा धेरै मानिसहरूको मृत्यु भएको छ ।  ‘ड्यासक्याम’बाट खिचिएका भिडिओ फूटेजमा सोमवार फु थोक प्रान्तको फोङ चाउ पुल भत्किएको क्षण देखिन्छ । पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख मानिसलाई बिजुलीविहीन बनेका छन् ।

पश्चिमतर्फ सर्ने क्रममा रहेको यागीले थप विनाश गर्ने अधिकारीहरूले चेतावनी दिएका छन् । प्रतिघण्टा २०३ किलोमिटरको वेगको यस आँधीबाट २४० भन्दा धेरै मानिसहरू घाइते बनेका छन् । यो एशियामा यस वर्ष देखा परेको सबैभन्दा शक्तिशाली तुफान हो ।

पुलमा के भयो ?
फोङ चाउ पुल भत्किँदा दश वटा कार र दुई वटा स्कूटर रेड नदीमा खसेको भियतनामका उपप्रधानमन्त्री हो डुच पोचले जनाएका छन् । चालकले रोक्न नभ्याउँदै अगाडिको पुल भत्किँदा लरी पानीमा खसेको क्षण क्यामेरामा कैद भएको थियो । हालसम्म नदीबाट कम्तीमा तीन जना मानिसहरूको उद्धार गरिएको छ ।

नुयाङ मिन्ह हइले पुल भत्किँदा आफूले उक्त पुलमा मोटरसाइकल चलाइरहेको बताउँछन् । ‘तल खस्दा म निकै आत्तिएँ,’ अस्पतालबाट बोल्दै उनले भने, ;मलाई भर्खर मैले मृत्यु छलेँ भन्ने अनुभूति भइरहेको छ । मलाई पौडी खेल्न आउँदैन त्यसैले अब म मर्छु जस्तो लागेको थियो ।’

३७५ मिटर लामो उक्त पुलको केही भाग अझै बाँकी छ । त्यहाँको सेनाले खाली रहेको उक्त भागमा सक्दो छिटो पानीमा तैरनै अस्थायी प्रकृतिको ‘पोन्टून’ पुल बनाउन निर्देशन दिएको छ । भियतनामको कृषि तथा ग्रामीण विकास मन्त्रालयका अनुसार मृत्यु भएकाहरूमध्ये कम्तीमा ४४ जनाको पहिरो र अकस्मात् आएको बाढीबाट ज्यान गएको थियो । जसमध्ये ६८ वर्षकी एक महिला, एक वर्षका बालक र एक नवजात शिशु छन् ।

आँधीले घरका छानाहरू उडाउने, रूखहरू ढाल्ने र उत्तरी भागमा पूर्वाधार तथा कारखानाहरूमा व्यापक क्षति पुर्‍याएको छ । रोयटर्स समाचार संस्थाका तस्बिरहरूमा हाइ फोङ सहरको एलजी इलेक्ट्रोनिक्स कारखानाको पर्खाल भत्किएको देखिन्छ । -बीबीसी

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया