काठमाडौं – लोकतन्त्रमा बोल्न पाउनुपर्छ भनेर भाषण गर्ने दलहरू नै आलोचकप्रति निर्मम बनिरहेका छन् । कमजोरी सुधार्दै जानुपर्नेमा आलोचकको मुख बन्द गरिदिनेदेखि जिम्मेवारी खोस्नेसम्मका गतिविधि देखिन थालेका हुन् ।
आफ्नै पार्टीका नेताहरूलाई पछार्ने नेतृत्वले फरक दल वा आम नागरिकलाई कस्तो व्यवहार गर्लान् यो जगजाहेर नै छ । भलै ठूलो संख्यामा नभएपनि यो व्यवहारमा अछुतो भने नयाँदेखि पुरानासम्म कुनै दल छैन । चुनावमा टिकट विवरणदेखि जिम्मेवारी दिनेसम्ममा विभेद हुने गरेका घटना त सामान्य नै भइसकेका छन् । पछिल्लो समय नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री यसैको मारमा पारिन् । पार्टी स्थापनाको तीन वर्षपछि भएको महाधिवेशनले झाँक्रीलाई किनारामा पुर्याइएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरोध होस् या एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी बनाउँदा, अग्रमोर्चामा रहेर माधव नेपाललाई साथ दिएकी थिइन् रामकुमारी झाँक्री । पहिला नेपाललाई एमालेमा बस्नै नसक्ने गरी उकास्ने कथित १० भाइले अन्तिम समयमा धोका दिँदा माधव नेपालका निम्ति तिनै रामकुमारी झाँक्री भरोसाको लट्ठी बनेर साथ दिन पुगेकी थिइन् । आज तिनै रामकुमारी झाँक्री माधव नेपालबाट पार्टीमा एक्लाइएकी छन् ।
पार्टीमा झाँक्री उपाध्यक्षमा पराजित भएकी छन् । पछिल्लो समय अध्यक्ष माधव नेपालसँग बिग्रँदै गएको सम्बन्धको कारण नै झाँक्री पराजित भएको बुझ्न गाह्रो छैन । किनभने यो महाधिवेशन भनिए पनि ‘माधव नेपाल पक्षको एउटा भारदारी सभा हो’ भन्न थालिएको छ । स्वयम् रामकुमारीले नै अध्यक्षबाट असहयोग भएको विभिन्न सञ्चार माध्यममा बताउँदै आएकी छन् ।
कतिसम्म भने उनलाई हराउन अध्यक्ष नेपालले सर्कुलर (चिट)नै जारी गरियो । जिताउनुपर्ने पदाधिकारीहरूको नाम भन्दै माधवले लेखेको चिटमा जयन्ती देवी राईको नाम थियो तर, रामकुमारकी थिएन । यस्तो किन भयो त ? यसको एउटै कारण हो उनको विद्रोही स्वभाव । पछिल्लो समय उहाँले पार्टीका कुनै कुनै बैठकमा उपस्थित भएर सम्बन्धित मुद्दाहरूमा आफ्ना धारणाहरू राख्थिन् । पहिलेजस्तो पार्टी काममा पनि रामकुमारी थिइनन् । जुन आफैले स्वीकारेकी छन् ।
नेतृत्वको आलोचना गरेकै आधारमा पार्टीबाट पाखा लगाउन खोजिएको झाँक्री एक्लो नेपाली राजनीतिज्ञ होइन, यसैसाता नेतृत्वकै आलोचना गरेका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकाल दलविहीन भएका थिए । यसअघि नेतृत्वकै आलोचना गरेको आधारमा एमाले नेता भीम रावल ‘घर न घाटको जस्तो’ बनेका छन् ।
कुरा गरौं मुकुल ढकालको– पार्टी हितविरुद्ध गतिविधि गरेको भन्दै रास्वपा केन्द्रीय समिति बैठकले उनलाई साधारण सदस्यतासमेत खोसेको छ । रास्वपा स्थापना भएको दुई वर्ष मात्रै पुगेको छ । पार्टी स्थापना भएको दुई वर्षमै संस्थापक महामन्त्री दलविहीन बनेका हुन् ।
ढकाललाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुईपटकसम्म स्पष्टीकरण सोधिएको थियो । ढकालले पार्टी सुदृढीकरणका लागि भन्दै बनाएको प्रतिवेदनमा पार्टी अनुशासन विपरीतका कुराहरू समेटेको, पार्टीका अहित हुने खालका गतिविधि गरेको लगायत आरोप पार्टीले लगाएको थियो ।
ढकालले सभापति रवि लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा उनले सभापति लामिछानेको चर्को आलोचना गरे । रविकै कारण पार्टी ओरालोमा लागेको उनको निष्कर्ष थियो । पार्टी रवि क्लब बनेको भन्दै यसबाट मुक्त हुन नसके अर्को चुनावमा दुई/चार सिट जित्न पनि गाह्रो हुने ढकालको मूल्यांकन थियो । त्यसो भन्दैगर्दा उनी पार्टीबाटै निकालिए अर्थात् नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका ढकाल दुई वर्षमै दलविहीन बने ।
भीम रावल– उनी प्राविधिक रूपमा एमालेमै रहेपनि पार्टीमा कुनै भूमिका छैन । एमाले अध्यक्ष ओलीले रावललाई भूमिकाविहीन बनाइदिएका हुन् । रावलले एमाले परित्याग नगरे पनि पार्टीको कुनै भूमिका दिइएको छैन ।
सुदूरपश्चिम प्रदेशमा मात्रै होइन पार्टीमै वर्चस्व जमाएका रावल अन्ततः एक्लिए । उनको हालको अवस्था हुनुको मूलतः एउटै कारण छ, ओलीको प्रतिशोध । सार्वजनिक रूपमै आफ्नो आलोचना गर्न थालेपछि ओलीले रावललाई किनारा पार्दै गएका हुन् । भीम रावल ओलीसँग २०७४ फागुनमा एमाले र माओवादीबीच एकता हुँदैदेखि चिढिएका थियो । तत्कालीन नेकपा हुँदा रावल सचिवालयमा समेटिएको थिएन ।
ओली प्रधानमन्त्री हुँदासमेत उनले रावलका लागि बालुवाटारको ढोका बन्द गरिदिए । त्यसपछि ओलीसँग चिढिएका रावलले संसद्बाटै सरकारको आलोचना गर्न थाले । त्यसपछि १० मंसिर २०७८ मा भएको १०औँ महाधिवेशनबाट अध्यक्षमा दोहोरिएका ओलीले प्रतिस्पर्धी रावललाई पार्टीबाट पूरै भूमिकाविहीन बनाए । २०७९ मंसिरको निर्वाचनमा स्थानीय कमिटीले गरेको सिफारिश अनुसारको टिकट पनि ओलीले खोसिदिनुभयो । त्यसपछि रावल र ओलीबीच तीक्तता झनै बढ्यो । जुन अहिलेसम्म जारी छ ।