समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरबारे दिएको अभिव्यक्तिलाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका छन्। गुरुङले प्रहरी समायोजनमा असहयोग गरेको आरोप लगाउँदै कुँवरको “जिब्रो थुत्नुपर्ने” अभिव्यक्ति दिएका थिए।
सोमबार राष्ट्रिय समाचार समितिद्वारा आयोजित कार्यक्रममा गुरुङले आफूलाई प्रधानमन्त्री ओलीले जिम्मेवार भएर बोल्न सचेत गराएको बताए। गुरुङले भने, “प्रधानमन्त्रीले मलाई भविष्यमा यस्ता शब्द नबोल्न भनेका छन् र म पनि सचेत भएको छु।”
गुरुङले पोखरामा आयोजित पत्रकार भेटमा प्रहरी प्रमुख कुँवरले संघीय प्रहरी ऐन लागू नगर्ने भनाइ सुनेको भन्दै आलोचना गरेका थिए। उनले प्रहरी ऐनको विरोध जायज नभएको पनि बताए। प्रधानमन्त्री ओलीले गुरुङलाई सरकारको प्रवक्ता भएकाले भविष्यमा यस्ता शब्द प्रयोग नगर्न चेतावनी दिएका छन्।