समाचार सुन्नुहोस :
काठमाडौँ भक्तपुरको गट्ठाघरमा ३१ साउनमा भएको दुर्घटनापछि ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा झापाको बाह्रदशी गाउँपालिका ५ घर भएका ३१ वर्षीय सुवास बस्नेत, कपिलवस्तुका २६ वर्षीय सुदिप पराजुली, रामेछापको खाँडादेवी गाउँपालिका–६ का २७ वर्षीय देवराज खत्री र उदयपुरको चौदण्डी गढी नगरपालिका–६ का २९ वर्षीय रोहित थापामगर छन् । उनीहरूलाई ११ भदौमा भक्तपुरका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो।
३१ साउनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनापछि स्थानीयले ट्राफिक प्रहरीले जथाभावी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै प्रदर्शन गरेका थिए। प्रदर्शनमा उत्रिएकाहरूले ट्राफिक प्रहरीमाथि आक्रमण समेत गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।
प्रदर्शन नियन्त्रणमा लिन ११८ जना प्रहरी, १३० जना सशस्त्र प्रहरी र २२ राउण्ड अश्रु ग्यास प्रयोग गरिएको थियो। प्रदर्शनका क्रममा एसपी वेद विष्टसहित तीन जना सामान्य घाइते भएका थिए। पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।