समाचार सुन्नुहोस :
काठमाडौँ – बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण गरिएको ६० फिट अग्लो भ्युटावर बेवारिसे बनेको छ। तीन वर्षअघि निर्माण सम्पन्न भए पनि रेखदेख र सञ्चालन अभावले टावरको अवस्था बिग्रिएको छ। स्थानीयले टावरमा स्टिलका बार चोरी हुन थालेको र मद्यपान तथा धूमपान गर्नेहरूको केन्द्र बनेको गुनासो गरेका छन्।
स्थानीय जितुमाया रानाका अनुसार टावरमा फोहर थुप्रिएको, प्लास्टर उप्किएको र जमिन फाट्न थालेको छ। टावरबाट पर्यटकीय गतिविधि बढ्ने आशा गरेका स्थानीय अहिले असुरक्षित महसुस गरिरहेका छन्।
वडाध्यक्ष तबारक अहमद मियाँले दैनिक सयभन्दा बढी पर्यटक आउने भए पनि व्यवस्थित सञ्चालन नभएको बताए। नगरपालिकाले कम्पाउन्ड वाल निर्माणका लागि बजेट छुट्याएको छ र व्यवस्थापनका लागि प्राथमिकता दिएको छ। नगरप्रमुख विष्णुप्रसाद भुसालले समस्याको समाधान गर्न पहल भइरहेको जानकारी दिए।