समाचार सुन्नुहोस :
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरणको मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई सुम्पिने निर्णय गरेको छ। मन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार मन्त्रालय र केन्द्रबीच औपचारिक सम्झौता भएको हो । जसमा मन्त्रालयका डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका छन्।
यो सम्झौता अनुसार केन्द्रले मन्त्रालयअन्तर्गतका १७ अस्पतालमा रहेका बिग्रिएका उपकरणहरूको अवस्था अध्ययन गरी मर्मत गर्नेछ। मन्त्री पौडेलले मर्मत अभावमा खेर गइरहेका उपकरणलाई पुनः उपयोगी बनाउने विश्वास व्यक्त गरे। उनले स्वदेशी सीप प्रयोग गरेर कम खर्चमा मर्मत हुन सक्ने आशा पनि व्यक्त गरे।
महावीर पुनले राज्यले आफूहरूप्रति देखाएको विश्वासप्रति खुशी व्यक्त गर्दै उपकरण मर्मत कार्यमा केन्द्रका स्रोत र प्राविधिकहरूलाई परिचालन गर्ने बताए। प्रारम्भमा १७ संघीय अस्पतालमा मर्मत कार्य थालिने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए।