काठमाडौं – सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका-५ को टासी लाप्चा क्षेत्रमा लेदोसहित आएको भीषण बाढीले दुईवटा होटल बगाएको छ ।
बाढीका कारण थामे गाउँका ७० प्रतिशत घर डुबानमा परेका छन् । कयौँ घर पूरै भत्किएका छन् । मानवीय क्षति भएको सूचना भने आएको छैन। हिमताल फुटेको अथवा हिमपहिरो गएको यकिन भइसकेको छैन । घटनास्थलतर्फ सुरक्षाकर्मी गइसकेका छन् ।
जल तथा मौसम विज्ञान विभागले जोरसल्लेदेखि तल दूधकोसीको तटीय क्षेत्रमा हुनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विगत १२ घण्टायता उक्त क्षेत्रमा वर्षा भएको छैन । जलवजायु विज्ञ धर्मराज उप्रेतीले सामाजिक सञ्जालमा लेख्दै त्यस क्षेत्रमा वर्षा भएको अवस्था नहुनाले हिमताल फुटेको वा पहिरोले नदी केही समय थुनिएर आएको हुन सक्ने बताएका छन् ।