काठमाडौं – सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिइन् ।
उनले शुक्रवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्त गर्ने गरिएको पनि बताइन् । त्यसैगरी सरकारले ५२ वटा विभिन्न रोगलाई सङ्क्रामक रोगको रुपमा पनि घोषणा गरेको छ ।
मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा तेजबहादुर रायलाई तोक्ने निर्णय गरेको छ । मन्त्री शर्माका अनुसार सरकारले जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ र ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन नियमावली २०८१ पनि स्वीकृत गरेको छ ।