काठमाडौं – नक्सालस्थित बालमन्दिरको जग्गा प्रकरणमा बाल संगठन तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले श्रेष्ठलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो ।
उनीसहित २० जनालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले गएको वैशाख २७ गते अनुमति दिएको थियो । बालमन्दिरको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनीभन्दा बढी जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोप छ । यो प्रकरणमा पक्राउ पर्ने श्रेष्ठ पहिलो व्यक्ति हुन् ।
संगठनकी तत्कालीन अध्यक्ष रितासिंह वैद्यविरुद्ध समेत पक्राउ पुर्जी जारी भए पनि उनी पक्राउ परेकी छैनन् । वैद्य कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुन् ।