काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले देश कुनै अमुक नेताहरूको कैदमा रहेको र उनीहरूको मर्जीबिना पात पनि हल्लिँदैन भन्ने धारणा फेरिनु आवश्यक रहेको बताएकी छन् ।
केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालक्षित ‘माइत घुम्न आएको फ्याट्ट मन्त्री भइयो’ भन्ने अभिव्यक्ति दिएका थिए । ओलीको सोही अभिव्यक्तिलाई जवाफ दिने गरी मंगलबार सामाजिक सञ्जालमा मन्त्री श्रेष्ठले लेखेकी छन्, ‘के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइ हाल्छ ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ?’
विदेश पढेर आउने जनशक्ति, नेतृत्वलाइ ‘ब्रेन गेन’को अवधारणासँग जोड्दै उनले राजनीतिमा जमेर बसेकाहरूलाई विदेश गएको जनशक्ति नेपाल फर्किँदा पैसाबाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने अभिप्राय राखेको आरोप लगाएकी छिन् । महिलाको हकमा यो अवस्था झनै विकराल रहेको उनको भनाइ छ । ‘म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ,’ मन्त्री श्रेष्ठले लेखेकी छिन् ।
- यस्तो छ पूरा स्ट्याटस
विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोरकिशोरीहरू विदेशिँदैछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन् । आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ । विदेशमा सहजताका लागि लामो समयको भिसा, पीआर वा नागरिकताजस्ता कागजात लिएका हुन सक्छन् । विदेशमा प्रेम होला, बिहे होला ।
कतिले विदेश पुगेपछि मात्र नेपाली समाजको गुणहरू बुझ्छन्, आफ्नो जरा नेपालमा भएको महसुस गर्छन् । विभिन्न कारणले विदेश पुगेकाहरू धेरैको मनमा परिस्थिति मिले नेपाल नै फर्किएर यहाँ नै समृद्ध र सहज जीवन जिउने चाहना हुन्छ । स्वयं नेपाल राज्यले नै त्यस्ता मानिसहरू नेपाल भित्र्याउने सोच राखेको नीतिहरू भेटिन्छन् । ब्रेन गेन, एनआरएनको नागरिकताजस्ता कार्यक्रमहरू त्यसकै लागि हुन् ।
तर, जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किंदा पैसाबाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ । यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र वर्षौंदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिस्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन् । यो तँ बसेर आएको देश हो र नेपाल पो हो भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुँदोरहेछ । कर्मचारीतन्त्र र यहाँका पेसाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन् । अहिले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरुको सिप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन् ।
महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । समाजको नियम भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यहि भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन् । अनि बिहे भएपछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन ? श्रीमान्काे पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइ हाल्छ ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन् । यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो । देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबैप्रति लक्षित हो ।
यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ । भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले नेपाल जान्छु र केहि गर्छु भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउँछ । देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिँदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ ।