काठमाडौं – यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमकी युवतीको मृत्यु भएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-४ गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको हो ।
डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिए । उनका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउँरेमा पुगेपछि जमुना लेक लागेर बिरामी परेकी थिइन् । उनलाई घर ल्याउने तयारी हुँदैगर्दा मृत्यु भएको हो ।
‘बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फकिर्दै गर्दा मृत्यु भएको हो’, वडाध्यक्ष विष्टले भने, ‘शसस्त्र प्रहरी बलको सहयोगमा गत राति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो ।’