समाचार सुन्नुहोस :
काठमाडौँ – सभामुख देवराज घिमिरेले संसद्को जारी गतिरोधबारे आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । प्रतिपक्षीको अवरोधका कारण संसद्बाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई गम्भीररूपमा लिएका सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्रीसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार साढे ८ बजेदेखि शुरू भएको छलफल जारी छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तत भइसकेपछि धन्यवाद प्रस्तावसमेत पारित गर्न दिएको थिएन । सहकारी ठगी प्रकरणमा संसदीय छानबिनको माग गरिरहेको कांग्रेसले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।
यसअघि हिजै सभामुख घिमिरेले कम्तिमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न दिन कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरूसँगको बैठकमा ध्यानाकर्षण गराएका थिए ।