आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्न लागेको हो । यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिएपनि सफल नभएपछि पुन: अभियान सञ्चालन गर्न थालेको हो। उक्त अभियान दुई हप्तासम्म सञ्चालन हुने छ ।

हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ। यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका लक्षण शरीरमा देखिने स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताए। हात्तीपाइले रोगको धेरैजस्तो सङ्क्रमण लक्षण बिनाको हुने भएकाले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका फोकल पर्सन राम कुमार महतोका अनुसार सात जिल्लाका १०१ पालिकामा रहेका ५१ लाख नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ ।

 

तपाईको प्रतिक्रिया