काठमाडौं – शक्तिशाली भूकम्पले तहसनहस बनाएको जाजरकोटमा लगातार साना-ठूला परकम्प गइरहेका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ११:४७ बजे ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जनधनको ठूलो क्षति गरेको छ । भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने २०२ जना घाइते छन् । जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो । जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेखमा तीन, बैतडीमा तीन, जुम्लामा पाँच र रोल्पामा एक जना घाइते छन् । उनीहरूमध्ये केही गम्भीर छन् ।
त्यसयता पनि साना-ठूला परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रको तथ्यांक अनुसार गएराति १४:४७ बजेदेखि आज अपराह्नसम्म १७५ वटा साना-ठूला परकम्प रेकर्ड भएका छन् । त्यसमध्ये चार म्याग्निच्यूडभन्दा ठूला पाँच वटा परकम्प रेकर्ड भएका छन् । पछिल्लो पटक अपराह्न ३:४० बजे ४.२ म्याग्निच्यूडको परकम्प गएको छ ।
कात्तिक १७ गते राति शक्तिशाली भूकम्प गएपछि पनि चार म्याग्निच्यूडभन्दा बढीका तीन वटा परकम्प लगातार गएका थिए । राति १२:०८ बजे ४.५, राति १२:२९ बजे ४.२ र राति १२:३५ बजे ४.३ म्याग्निच्यूडको परकम्प गएका थिए । त्यसपछि कात्तिक १८ गते बिहान ४:१६ बजे ४.६ म्याग्निच्यूडको परकम्प गएको थियो । त्यसयता पनि लगातार साना परकम्प गइरहेको केन्द्रले जनाएको छ । साना परकम्पले भने खासै असर गरेका छैनन् । तर स्थानीय बासिन्दा त्रसित छन् ।
भूगर्भविद्हरूले पश्चिम नेपालमा ठूलो भूकम्प जान सक्ने अनुमान गर्दै आएका थिए । पछिल्लो ५०० वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प गएको थिएन । २०७२ सालको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछि यो सबैभन्दा ठूलो भूकम्प हो ।