काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा बल्छी ध्रुवे नामले परिचित कलाकार मरिचमान श्रेष्ठसहित आज आठ जनालाई पक्राउ गरेको छ ।
प्रतिबन्धित विभिन्न अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजी गर्नका लागि विज्ञापन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ, राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली छन् ।
पक्राउ परेका कलाकारहरुले युट्युबमार्फत् अनलाइन वेटिङको विज्ञापन गरेको प्रहरीको आरोप छ । उनीहरुले युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेका थिए । कलाकार एवं युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अप्रेसन चलाएको थियो । विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत कलाकारहरुले १० देखि ४० लाखसम्म बुझेको खुलेको छ ।
बिहीबार पक्राउ परेका हाँस्य कलाकार तथा युट्युबरहरुले अनलाइन जुवा प्रमोशनका लागि १० देखि ४० लाख रुपैयाँसम्म लिएको प्रमाण फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले जानकारी दिए । ‘पक्राउ परेकाका ८ जनाले १० देखि ४० लाखसम्म रकम वान एक्स बेटबाट बुझेको भेटिएको छ’, केसीले भने, ‘प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका सबैले अनलाइन जुवाको प्रमोशनका लागि रकम लिएको पाएका छौँ । थप अनुसन्धान भइरहेकाले अझै विस्तृत खुल्न बाँकी छ ।’