काठमाडौं – रुसले युक्रेन युद्धमा फ्रन्टलाइनमा आफ्नो नयाँ टी- १४ अर्माटा ‘रोबो-ट्याङ्क’ तैनाथ गरेको छ । रुसी सेनाले युक्रेनी सेनाबाट अपेक्षित आक्रमण हुनुअघि नै युद्धको मैदानमा नयाँ हतियार तैनाथ गरेको हो ।
यस ट्याङ्कीमा ८ किलोमिटरको दायरा रहेको शक्तिशाली बन्दुकले सशस्त्र मानवरहित बुर्ज जडान गरिएको छ । यो ट्याङ्कीले ‘मिनेटमै’ सहरलाई भग्नावशेषमा परिणत गर्न सक्ने दाबी गरिएको छ । यसमा विशेष स्टिल्थ कोटिंग छ, जसले यसलाई दुस्मन राडारहरूमा अदृश्य बनाउने रसियाको दाबी छ । रुसले शक्तिशाली ट्यांक तैनाथ गरेपछि आगामी दिनमा रुस र युक्रेनबीच झडप बढ्न सक्ने अनुमान गरिएको छ ।
युक्रेनीहरूबाट जवाफी आक्रमणको डरको बीचमा, रुसले अर्माटा ट्याङ्कलाई मैदानमा उतारेको हो । युक्रेन युद्ध निर्णायक मोडतर्फ पुगेको विश्लेषण भइरहेका बेला रुसको यस कदमको अहिले विशेष चर्चा भइरहेको छ । क्रिमियालाई स्वतन्त्र गर्न युक्रेनले त्यहाँबाट रुसीहरूलाई निष्कासन गर्न चाहेको विज्ञहरू विश्वास गर्छन् । रसियाले युक्रेनी सेनामाथि गोली चलाउन नयाँ ट्याङ्कहरू प्रयोग गर्न थालेको बताइए पनि समाचार एजेन्सीहरूले यी नयाँ ट्यांकहरुले आक्रमणमा प्रत्यक्ष रूपमा भाग नलिएको बताइएको छ ।
पहिलो पटक यो ट्यांक २०१७ मा देखा परेको थियो । रुसले यसको क्षमताको बारेमा धेरै ठूलो दाबी गरेको छ । रुसको उरालभागनजाभोड कम्पनीले टी-१४ अर्माटा विकास गरेको हो । यो रुसको सबैभन्दा शक्तिशाली ट्यांक हो, जसको सबैभन्दा ठूलो शक्ति यसको १२५ एमएम २ए८२० १एम स्मूथबोर तोप मुख्य बन्दुक हो । अटोमेटिक लोडर भएको यो बन्दुकमा ३२ राउण्ड गोली चलाउन सक्छ । यस बन्दुकबाट लेजर गाईडेड मिसाइल पनि प्रहार गर्न सकिन्छ ।
यसलाई विश्वको सबैभन्दा सुरक्षित ट्याङ्की पनि मानिन्छ । यसले १५२ एमएम ट्यांक सेलहरू पनि सामना गर्न सक्छ । यसको हतियार अमेरिकी अब्राम ट्याङ्कको भन्दा दोब्बर मोटो छ । अन्य कुनै ट्याङ्कीमा यो सुविधा छैन ।
रुसले २०१५ मै २३०० यो ट्यांकको निर्माणको आदेश दिएको भएपनि २०२५ सम्म सबै ट्यांकको निर्माण सकिने रुसी मिडियाहरूले उल्लेख गरेका छन् । एकथरीले अहिले रुससँग पर्याप्त मात्रामा यो ट्यांक उपलब्ध नरहेको र युक्रेन युद्धमा प्रोपोगाण्डाका लागि मात्र केही यस्ता ट्यांक प्रयोगमा ल्याउन खोजेको आरोप लगाएका छन् ।