काठमाण्डौ – नेपालीहरूको मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा विभिन्न किसिमका फौजदारी अभियोगमा ८७१ जना नेपाली जेलमा रहेको पाइएको छ । पछिल्लो समय दूतावासहरूले दिएको जानकारी अनुसार खाडीका ६ देश र मलेसियामा ८७१ नेपाली विभिन्न फौजदारी अभियोग लागेर जेलमा रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
बोर्डसँग रहेको तथ्याङ्क अनुसार खाडीको देश साउदी अरेबियाको जेद्दामा ५२ जना, साउदीकै रियादमा ३४६ जना, यूएईमा १८१ जना, कतारमा ६१ जना, कुवेतमा ७१ जना बहराइनमा १३ जना र ओमानमा ५ जना जेल जीवन बिताइरहेका छन् ।
यस्तै नेपालीहरूको रोजाइको गन्तव्य देश मलेसियामा १४२ जना विभिन्न फौजदारी अभियोगमा जेल परेको तथ्याङ्क प्राप्त भएको बोर्डले जनाएको छ । तर दूतावासले उपलब्ध गराएको यो तथ्याङ्क र अहिलेको अवस्थामा कतिपय सजाय काटेर देश फर्किसकेको हुन सक्ने बोर्डको भनाई रहेको छ ।