समाचार सुन्नुहोस् :
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको हो। स्रोतका अनुसार छलफल जारी नै छ। वैशाख १० गते हुने उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको हो।
उपनिर्वाचन चितवन २, तनहुँ १ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुँदैछ। चितवन- २ मा यसअघिका प्रतिनिधिसभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भइ पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। यसैगरी, बारा- २ मा जसपाबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। यस्तै, तनहुँ- १ मा नेपाली कांग्रेसबाट विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।