समाचार सुन्नुहोस् :
काठमाडौँ – रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आरोपमा उनीविरुद्ध राैतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
साहको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह बिहीबार पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अनुसन्धानका क्रममा मेयर साहको नाम आएकोले छानबिन गर्नु परेकोले उनीविरुद्ध पनि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराइएको प्रहरीले जनाएको छ । मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट मेयर साहको नाममा परीक्षा दिइरहेका बेला कमल पक्राउ परेका हुन् ।