काठमाडौँ – फिफा विश्वकप अन्तर्गत आज तेस्रो क्वार्टर फाइनल खेलमा मोरोक्को र पोर्चुगल भिड्दै छन्। मोरोक्को र पोर्चुगलको खेल आज राति ८:४५ बजे कतारको दोहास्थित अल थुमाम रंगशालामा हुनेछ। यो रंगशालाको क्षमता ४४ हजार चार सय दर्शक अटाउने रहेको छ। यसअघि गएराति भएका दुई वटा क्वार्टर फाइनल खेलमा पेनाल्टी सुटआउटमा जित हासिल गर्दै क्रोएशिया र अर्जेन्टिना सेमिफाइलनमा प्रवेश गरिसकेका छन्। निर्धारित समयमा बराबरी भएपछि पेनाल्टी सुटआउटमा क्रोएशियाले ब्राजिललाई ४-१ र अर्जेन्टिनाले नेदरल्यान्डस्लाई ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन्।
कतार विश्वकपमा प्रिक्वार्टर फाइनलमा स्पेनलाई पराजित गर्दै मोरोक्को क्वार्टर फाइनलमा पुगेको हो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा मोरोक्कोले स्पेनलाई ३-० गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै, स्विटजरल्यान्डलाई प्रिक्वार्टर फाइनलमा पराजित गर्दै पोर्चुगल क्वार्टर फाइनलमा प्रवेश गरेको हो। पोर्चुगलले स्विटजरल्यान्डलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो।
अहिलेसम्म मोरोक्को र पोर्चुगलबीच विश्वकपमा दुई पटक भेट भएको छ। सन् २०१८ को विश्वकपको समूह चरणमा पोर्चुगलले मोरोक्कोलाई १-० गोल अन्तरले पराजित गरेको थियो। त्यसअघि सन् १९८६ को विश्वकपको समूह चरणमै मोरोक्कोले पोर्चुगललाई ३-१ गोल अन्तरले पराजित गरेको थियो। आजको खेल मोरोक्कोले जितेमा विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बन्नेछ। यसअघि सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल र सन् २०१० मा घाना क्वार्टर फाइनलमा पुगेका थिए, तर तीनै टोली पराजित भएका थिए।
पोर्चुगलको पनि यो तेस्रो क्वार्टर फाइनल हो। यसअघि खेलेका दुई वटा क्वार्टर फाइनलमा जित हासिल गरेको थियो। सन् १९६६ को विश्वकपमा कोरियालाई ५-३ गोल अन्तरले र सन् २००६ मा इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल सेमिफाइनल पुगेको थियो। दुवै टोलीले खेलका पछिल्लो पाँच वटा खेलमा भने मोरोक्को बलियो देखिएको छ। मोरोक्कोले पाँच खेलमा चार खेल जितेको छ भने एउटामा बराबरी खेलेको छ। पोर्चुगलले चार खेल जितेको छ भने एउटा हारेको छ।