काठमाडौं – आसिफ शेखको शतकप्रेरित नेपालले आज केन्याविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा ७ विकेटको विजय हासिल गरेको छ । नैरोबीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २१८ रन बनाएको थियो । २१९ रनको लक्ष्य नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका आसिफले ११० रन बनाए । आसिफले ओपनर अर्जुन साउदसँग पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरेका थिए ।अर्जुनले ६१ रन बनाए । त्यसपछि आसिफले ज्ञानेन्द्र मल्लसँग दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । ज्ञानेन्द्रले २४ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १५ र कप्तानको जिम्मेवारीमा रहेका रोहितकुमार पौडेल ३ रनमा अविजित रहे । केन्याका भीसिल पटेल, राकेप पटेल र कोलिन्स ओबुयाले एक एक विकेट लिए ।
त्यसअघि केन्याका राकेप पटेलले ६७, कोलिन्स ओबुयाले ६२, सचिन भुडियाले २६ र इर्फान करिमले ३० रन बनाए । अन्यले उल्लेख प्रदर्शन गर्न सकेनन् । नेपालका सोमपाल कामी र करण केसीले समान ३ विकेट लिए । आदिल अन्सारी र पवन सराफले एक एक विकेट लिए । नेपालले दोस्रो खेल शनिबार खेल्नेछ । नेपालले यसअघि सकिएको पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खला ३-२ ले जितेको थियो ।