काठमाडौं – फिल्म ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकैदिन प्रदर्शन हुने भएको छ । भारतीय संस्करणको पोस्टर रिलिज गर्दै निर्माताले फिल्म असोज ७ गते रिलिज हुने जनाएका हुन् । जी-म्युजिक, युएफओ र मधु इन्टटेनमेन्टले फिल्मलाई भारतभर रिलिज गर्न लागेका हुन् । हल रिलिजको आठ सातापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजनमा रिलिज हुने भएको छ ।
यसअघि ‘विश्वजितम’ शीर्षकमा भारतमा फिल्मलाई रिलिज गर्ने बताइएपनि टाइटल ‘प्रेमगीत ३’ नै रहने भएको छ । ‘टाइटल पहिलेकै राख्दा व्यवसायिक रुपमा पनि फाइदा हुने देखेपछि सोही निर्णय गरेका हौं’ निर्माता सन्तोष सेनले भने ।
निर्माताले महंगो मूल्यमा फिल्मको राइट भारतमा बेचेका हुन् । मधु इन्टटेनमेन्ट र युएफओले फिल्मलाई नेपालबाहेक विश्वभर रिलिज समेत गर्नेछ । सेप्टेम्बर १ मा हिन्दी संस्करणको ट्रेलर समेत आउने भएको छ ।
प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्मलाई सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।