काठमाडौँ – मेस्सीको प्रस्थानसँगै गत सिजन बार्सिलोनाको मैदानभित्र र बाहिर बिर्सनलायक रहयो । मैदानभित्रको प्रदर्शन खराब हुँदा क्लब उपाधिविहिन बन्नुपर्यो । खराब प्रदर्शनका कारण प्रशिक्षक रोनाल्ड कोम्यान पनि बर्खास्त भए । पूर्व खेलाडी जाभीले सिजनको दोस्रो हाफमा टोलीको स्तर उकास्ने प्रयास गरे । मैदानबाहिर मेस्सीको विषय र अनेक आर्थिक समस्याका कारण क्लब विवादरहित बन्न सकेन ।
मेस्सीविना क्लबको आक्रमण पनि निकै खराब भयो । क्लबले ला लिगामा १८ वर्षयताकै सबैभन्दा कम गोल गर्यो । लिगका ३८ खेलमा बार्सिलोनाले ६८ गोल मात्र गर्न सक्यो । योभन्दा कम गोल यसअघि मेस्सीले बार्सिलोनाको सिनियर टोलीबाट खेल्नुअघि मात्र थियो । सन् २००३-२००४ सिजनमा बार्सिलोनाले ६३ गोल गरेको थियो । त्यसयता भने क्लबले ७६ गोल भन्दा कम गरेको छैन ।
गत सिजन बार्सिलोनाको सर्वाधिक गोलकर्ता मेम्फिस डिपाए थिए । उनले सिजनभर १२ गोल गरे । २८ वर्षयता बार्सिलोनाको सिजनमा सबैभन्दा कम गोल गर्ने सर्वाधिक गोलकर्ता उनी नै बने । मेस्सी सन् २००९-१० सिजनदेखि क्लब नछोड्दासम्म एक सिजन मात्र सर्वाधिक गोलकर्ता बनेनन् । त्यस सिजन लुइस सुआरेजले ४० गोल गर्दा मेस्सीले २६ गोल गरेका थिए ।
गत सिजन आक्रमणमा कमजोर भएकाले नै बार्सिलोनाले यस सिजन दुई महत्त्वपूर्ण खेलाडी अनुबन्धन गरेको छ । लिड्सबाट राफिन्हा र बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गर्दै क्लबले आक्रमणको समस्या सुल्झाउने जमर्को गरेको छ ।