काठमाडौँ – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जित निकालेको छ । युनाइटेडले अष्ट्रेलियाको मेलबर्न भिक्ट्रीमाथि ४-१ को सहज जित दर्ता गरेको हो ।
खेलको सुरुवाती समयमा युनाइटेड पछि परेपनि दुवै हाफमा २-२ गोल गर्दै टोलीले आफ्नो लय कायम राखेको हो । प्रशिक्षक एरिक टेन हागको नियुक्ति पछिको दोस्रो खेलमा युनाइटेडले आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दियो । मेलबर्नका लागि क्रिस इकोनोमिदिसले गोल गर्दा युनाइटेडका स्कट म्याकटोमिने, एन्थोनी मार्सियल र मार्कस रासफर्डले गोल गरे । अर्को गोल आत्मघाती गोल भएको थियो ।
खेलको पाँचौ मिनेटमा नै युनाइटेड पछि परेको थियो । बेन फोलामीको क्रसमा क्रिसले गोल गर्दै अग्रता दिलाएका थिए । डिफेन्समा लुक शा र भिक्टर लिन्डलफले गल्ती गरेपछि क्रिसले ह्यारी मगाएर उपस्थित नहुँदै गोल गरेका थिए ।
युनाइटेडले पहिलो हाफको २ मिनेट समय बाँकी रहँदा बराबरी गोल फर्कायो । म्याकटोमीनेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो । त्यसको ३ मिनेट नबित्दै युनाइटेडले अग्रता लियो । यसपटक एन्थोनी मार्सियलले युनाइटेडको आक्रमणमा राम्रो तालमेल सहितको मुभलाई गोलमा परिणत गरे ।
दोस्रो हाफमा अधिकांश खेलाडी परिवर्तन गरेको युनाइटेडले ७७ औं मिनेटमा अग्रता दोब्बर पार्यो । एरिक बेलीको सानदार पासमा रासफर्डले उत्कृष्ट फिनिस गर्दै ३-१ को स्थितिमा पुर्याए । खेलको अन्तिम मिनेटमा ताहित चोङको क्रस मेलबर्नका एडमन्ड लुपान्कुलाई लाग्दै गोल भएपछि युनाइटेड ४-१ ले विजयी रहेको थियो ।
यसअघि सिजनको पहिलो मैत्रीपूर्ण खेलमा युनाइटेडले लिभरपुललाई हराएको थियो । उक्त खेलमा ४-० को जित हासिल गर्दै टेन हागले सुखद सुरुवात गरेका थिए ।