काठमाडौं – दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली इंग्ल्याण्डले भारतविरुद्ध फराकिलो जित निकालेको छ । इंग्ल्यान्डले पाहुना टोली भारतलाई १०० रनको फराकिलो अन्तरले हराएको हो । लर्ड्समा बिहीबार भएको खेलमा इंग्ल्याण्ड टस हारेर ब्याटिङ गरेको थियो । उसले ४९ ओभरमा सबै विकेट गुमाएर २४६ रन बनाएको थियो ।
इंग्ल्याण्डले दिएको २४७ रनको लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमै अलआउट हुँदै १४६ रनमा समेटियो । भारतका लागि हार्दिक पाड्या र रवीद्र जडेजाले समान २९/२९, सूर्यकुमार यादवले २७, मोहम्मद सामीले २३ र विराट कोहलीले १६ रन बनाए ।
अन्य ६ खेलाडीले दोहोरो अंकको रनसमेत जोड्न सकेनन् । भारतलाई लक्ष्यमा पुग्न नदिन घरेलु टोलीका रिच टाप्लेले ६ विकेट लिए । यस्तै, ब्रान्डन क्रासी, डेभिड बिली, मोइन अली र लियाम लिभिङस्टोनले समान १/१ विकेट लिए । यता, इंग्ल्याण्डका लागि मोइन अलीले ४७, डेभिड बिलीले ४१ तथा जोनी बेरेस्ट्रोले ३८, जोसन रोयले २३ तथा बेन स्ट्रोकले २१ रन बनाए ।
भारतका लागि युजवेन्द्र चाहलले ४, जसप्रित बुमराह र हार्दिक पाड्याले समान २/२ तथा मोहम्मद सामी र प्रसिद्ध कृष्णाले समान १/१ विकेट लिए । यस जितसँगै इंग्ल्याण्डले तीन खेलको सिरिजमा १/१ को बराबरी गरेको छ । पहिलो खेल भारतले १० विकेटले जितेको थियो । दुई टोलीबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आइतबार हुनेछ ।