काठमाडौं – भारत र दक्षिण अफ्रिकाबीचको टी–२० क्रिकेट श्रृंखला रोमाञ्चक मोडमा पुगेको छ । पाँच खेलको श्रृंखलाका शुरुआती दुई खेल गुमाएर निराश भारतले त्यसपछिका दुवै खेल जितेसँगै २–२ को बराबरी भएको छ । अब अन्तिम खेलबाट उपाधिको छिनोफानो हुनेछ । अन्तिम खेल आइतबार बैंगलुरुमा बेलुकी ७ः१५ बजे शुरु हुनेछ ।
यसअघि शुक्रबार राति भएको चौथो खेलमा भारतले शानदार खेल पस्कियो । भारतले पाहुना टोली दक्षिण अफ्रिकालाई ८२ रनले हरायो । भारतले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.५ ओभरमा अलआउट हुँदै ८७ रन मात्र बनाउन सक्यो ।
रस्सी भान डेर डुसेनले २० तथा क्विन्टन डी ककले १४ रन बनाए । मार्को जनसेनले १२ रन जोडे । अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । नाटकीय शैलीमा विकेट लिने क्रममा आभेश खानले १८ रन खर्चेर ४ तथा युजभेन्द्र चहलले २१ रन खर्चेर २ विकेट लिए । हर्षल पटेल र अक्षर पटेलले १–१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । भारतका लागि प्लेयर अफ द म्याच दिनेश कार्तिकले २७ बलमा ५५ रनको अर्धशतकीय इनिङस् खेल्दा हार्दिक पाण्डेयले ३१ बलमा ४६ रन बनाए । इशान किसन २७ रनमा आउट भए । लुंगी एनगिडीले २ विकेट लिए ।